किरात याक्थुङ चुम्लुङ जापानको आयोजनामा सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) (BBQ) कार्यक्रम सहित सम्पन्न भएको छ ।
टोकियो स्थित खासाइ रिन्खाइ पार्कमा सम्पन्न भएको बनभोज (BBQ) कार्यक्रम जापानमा रहेका लिम्बु समुदायवीच एक आपसमा चीनजान गरी सुख दुखमा साथ दिने र पुखौदेखि चलिआएको लिम्बु मौलिक नाँच, संस्कार, संस्कृति र पहिचानको जगेर्ना गर्दै नयँ पुस्ताका लिम्बु युवाहरुलाई आफ्नो मौलिक पहिचानबारे जानकारी गराउने उद्देश्यले चुम्लुङ जापानले सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) कार्यक्रम आयोजना गरेको अध्यक्ष मन कुमार लिम्बुले बताउनु भयो ।
कार्यक्रममा लिम्बू जातिको मौलिक संस्कृतिअन्तर्गत याःलाङ (धान नाच) र केःलाङ (च्याब्रुङ नाच) प्रस्तुत गर्नुका साथै सहभागीहरुबोच छेलो हान्ने र गैटो फुटाइ प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।
के हो सिसेक्पा तङ्नाम’ ?
साउने सङ्क्रान्तिलाई किराँत लिम्बू समुदायले ‘सिसेक्पा तङ्नाम’ भन्ने गर्दछन्। सिसेक्पा तङ्नाम अर्थात् साउने सङ्क्रान्तिलाई किराँत लिम्बू समुदायले आफ्नो मौलिक पर्वका रूपमा मनाउने गरिएको पाइएको छ। मौलिक पर्वका रूपमा मनाउँदै आएका ताप्लेजुङसहित पूर्वका किराँत लिम्बू समुदायले साउन १ गते अर्थात् सङ्क्रान्ति पर्व (सिसेक्पा तङ्नाम) भव्य रूपमा मनाएका छन्।
सिसेक्पा तङ्नामको अवसरमा शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम गर्ने प्रचलन रहेको छ । साँझपछि किराँत लिम्बू समुदायले आफ्नो इष्टदेवको सम्मानमा नयाँ पाकेका फलफूल चढाउने गर्दछन्। सङ्क्रान्तिका दिन बिहानदेखि विशेष खानपानसँगै दिउँसो शुभकामना सहितका औपचारिक कार्यक्रम र साँझ अन्न, फलफूल र कुरिल्लोको पातहरू सङ्कलन गरेर डोरीले बाँधेर ढोकामा झुन्ड्याउने गरिन्छ। हरियो बाबियोको डोरी बनाई अन्न, फलफूल र अन्य पातहरू लहरै सिउरेर घरको मूल ढोकामाथि झुन्ड्याउने परम्परा रहेको छ ।
बेलुकीको खाना खाई सकेपछि छरछिमेक सबैले एकसाथ बन्दुक पड्काउने, थाल, झ्याम्टा, ढोल बजाउने, नाङ्लो ठटाउने लगायतका गतिविधि गरी सिसेक्पा तङ्नामको समापन गर्ने गरिन्छ । घर वा समाजमा भएको खराब तत्त्वको अन्त्य हुने परम्परा अनुसार किराँत लिम्बू समुदायले सिसेक्पा तङ्नाम एक विशेष महत्वका साथ मनाउने गर्दछन्।