विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न दसैँ आउँछ, न त तिहार नै ।

त्यही लेकाली समुदायका एक हुनुहुन्छ ६५ वर्षीय योन्जेन शेर्पा । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका उनी याक–चौँरी गाईसँग रमाउन थालेको ६५ वर्ष भयो ।समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइको मौवटारमा उनको गोठ छ । छोराछोरीलाई अंशका रूपमा चौँरी बाँडेर पनि उहाँसँग अहिले ३० वटा छ । दश वटा दुहुना छन् । बिहान उठ्ने बित्तिकै एक गिलास दूध चिया लिए पछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ ।

तिनलाई चरन क्षेत्रमा पुर्‍याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्पी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगिसक्छ । साँझ परेपछि छरिएका चौँरी र याकलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म जुन उदाइसक्छ । यसै गरी लेकाली बस्तीका समुदायको दिन बित्छ ।

उनीहरूको मुख्य पुर्खौली पेसा चौँरी–याक पालन नै हो । वर्ष दिनमा आउने दसैँ तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्वे शेर्पाले बताए । चौँरी याकसँग हिमाल डुल्दाडुल्दै कतिखेर दसैँ आउँछ कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको अर्का स्थानीयवासी तेन्जिङ शेर्पाले बताए । मौवटारमा चार, सिंजेको पोखरी क्षेत्रमा तीन, र याङमा क्षेत्रमा नौ वटा याकको घुम्ती गोठ छ । मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्रमा ३५ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिका–५ वडाध्यक्ष डण्डु लामाले बताए ।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छ । हिमाली बस्तीमा बसोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुने भएकाले दसैँको खासै महत्त्व नहुने फक्ताङलुङ–७ का चुङदाक शेर्पाले बताए । सहर बजारमा दसैँको उत्साह छाए पनि हिमाली बस्तीमा दसैँ तिहारको न उत्साह न त उमङ्ग नै दैनिक चौँरी याक चराउँदैमा उनीहरूको दिन बित्ने गर्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय