जलवायु परिवर्तनका कारण पृथ्वीको सरदर तापक्रम निरन्तर बढिरहे पनि विश्वको उच्च शिखर सगरमाथा भने झनै चिसिएको पाइएको छ । सगरमाथाको टुप्पोबाट चिसो हावा (क्याटाबाटिक विन्ड) तलतिर प्रवाहित हुँदा आधार शिविर वरपर झनै चिसो बढेको एक वैज्ञानिक अध्ययनको निष्कर्ष छ ।
उच्च हिमाली क्षेत्रको हावाको गति, वर्षा र तापक्रममा हुने घटबढलाई मुख्य केन्द्रमा राखेर गरिएको अध्ययनअनुसार सगरमाथाको उचाइमा यसअघि मानिएको भन्दा फरक खाले जलवायु गतिशीलता (क्लाइमेट डाइनामिक्स) रहेको पाइएको हो ।
समुद्री सतहदेखि ५ हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथाको पिरामिड स्टेसनमा राखिएको मौसम मापन केन्द्रले सन् १९९४ देखि उपलब्ध गराएको हरेक घण्टाको तापक्रम रेकर्ड, तिब्बततर्फ राखिएका अन्य पाँच मौसम मापन केन्द्रका तथ्यांक तथा जलवायुको क्षेत्रीय प्रवृत्तिको पुनर्समीक्षाका आधारमा यसअघिको भन्दा फरक खाले नतिजा आएको हो ।
सगरमाथाको हिमनदीजन्य क्षेत्रमा जडित पिरामिड मौसम मापन केन्द्रले सबैभन्दा लामो समयदेखि मौसमी तथ्यांक उपलब्ध गराउँदै आएको छ । प्रसिद्ध वैज्ञानिक जर्नल नेचर जिओसाइन्समा हालै प्रकाशित अध्ययन प्रतिवेदनका अनुसार पिरामिड स्टेसनमा गर्मीयाममा पछिल्ला तीन दशकमा हावाको अधिकतम तापक्रम र वर्षा (प्रिसिपिटेसन) घटेको पाइएको छ ।
अध्ययन नतिजाको पुनर्समीक्षाले हिमालयका अन्य क्षेत्रमा समेत समान किसिमको प्रभाव देखाएको छ । जलवायु परिवर्तनले हिमनदी पग्लने क्रममा तीव्रता ल्याएको यसअघिका विभिन्न अध्ययनले देखाएको सन्दर्भमा यो अध्ययनले फरक खाले नतिजा दिएको छ ।
अत्यधिक चिसोका कारण हिमाली उचाइमा हावाको चाप बढ्ने र माथिल्लो तथा तल्लो भेगमा हावाको चाप फरक हुने भएकाले गुरुत्वाकर्षणका कारण हावा तलतिर प्रवाह हुने र यही कारण हिमनदीमा क्याटाबाटिक विन्डको प्रवाह बढ्ने गरेको पाइएको छ ।
इटालीको मिलानस्थित नेसनल रिसर्च काउन्सिलका वैज्ञानिक डा. फ्रान्को सालेर्नाेलगायत विश्वका १९ वैज्ञानिक संलग्न अध्ययनको नतिजाअनुसार सगरमाथाको धारमा रहेका हिमनदी (ग्लेसियर) मा बरफका कारण फरक खाले जलवायु गतिशीलता देखिएको हो ।
अध्ययनमा सहभागी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. सुदीप ठकुरीका अनुसार स्थानीय तापक्रममा हिमनदी (ग्लेसियर) ले फरक खाले प्रभाव पार्ने गरेको देखिएको छ ।





