खानेपानी मन्त्रालयले अहिलेसम्म मेलम्चीको खानेपानी काठमाण्डौ ल्याउन भइरहेको कामको प्रगति हेर्दा अबको एक साताभित्र मेलम्चीको पानी घरघरमा पुग्ने गरी काम भइरहेको जनाएको छ।
मेलम्ची खानेपानी विकास समितिले बुधवार गरेको ‘ब्रिफिङ’ अनुसार यसअघि भनिएजस्तै माघ महिनाको पहिलो साताबाट काठमाण्डौमा पानी आइपुग्ने खानेपानी मन्त्रालयले बताएको हो ।मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले भनिन्, “हामीले जानकारी पाएसम्म अहिलेसम्म ८०/८५ प्रतिशत काम सकिइसकेको छ र अबको एक सातामा पानी आउँछ भन्ने छ।”
ठेकेदार कम्पनी सिनो हाइड्रोले बुधवार जानकारी दिए अनुसार यसअघि तय गरिएको २८ दिनको कार्य तालिका अनुसार नै काम भइरहेको समितिको भनाइ छ।
समितिले पुस ३ गते जारी गरेको विज्ञप्तिमा निर्माण व्यवसायीसँग एउटा समझदारी भएको र त्यस अनुसार उनीहरूलाई निर्माण स्थलमा परिचालन गर्ने र आकस्मिक परिस्थितिबाहेक बढीमा २८ दिनको कार्य तालिका अनुसार पानी पथान्तरण गर्ने सहमति भएको उल्लेख थियो।
दुई वर्षअघिको असार र साउन महिनामा आएका बाढीले हेडवर्क्स भनिने मुहानमा क्षति पुर्याएको थियो।वर्षौँ अघिदेखि थालिएको उक्त आयोजना त्यही वर्षबाट सञ्चालनमा आएको थियो।





