काठमाण्डू महानगरले धरहरामा सञ्चालनमा ल्याइएको निःशुल्क पार्किङ कुनै पनि हालतमा नरोकिने महानगरका प्रवक्ताले बताएका छन्। धरहराको निर्माण सकिन बाँकी रहेको भन्दै सरकारले त्यहाँ पार्किङ सञ्चालन नगर्न सरकारले पत्र पठाएको थियो।
तीनतले भूमिगत पार्किङ क्षेत्रमा विद्युत् र सीसीटीभी जडानसहित अन्तिम रूप दिने काम बाँकी रहेको अनि पार्किङ सञ्चालनमा रोक नलगाइए धरहराको निर्माण सम्पन्न गर्न अझै थप समय लाग्ने एक अधिकारीले बताएका छन्।
माघ मसान्तसम्म धरहराको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कुनै अवरोध नहुँदा समेत बाँकी काम सम्पन्न गर्न अझै तीनदेखि चार महिना लाग्ने अवस्था रहेको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का निर्देशकले बताए।
सन् २०१५ को विनाशकारी भूकम्पले ध्वस्त भएको धरहरा सरकारले फेरि बनाएको थियो। तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ को एप्रिल महिनामा नवनिर्मित संरचनाको उद्घाटन गरेका थिए। तर सबै काम नसकीकनै उद्घाटन गरेको भन्दै कतिपयले आलोचना गरेका थिए।भीमसेन थापाले बनाउन लगाएको धरहरा विसं १९९० सालको भूकम्पमा भत्किएपछि राणा प्रधानमन्त्री जुद्ध शम्सेरले त्यसको पुनः निर्माण गराएका थिए।
@बीबीसी न्यूज नेपाली





