किरात राई सुम्निमा सङ्घ र किरात राई यायोक्खाको जापान शाखाले अनलाईन साकेला सिलीको प्रशिक्षण दिने भएका छन् ।
सुम्निमा सङ्घ र यायोक्खा जापानले संयुक्त रुपमा आयोजना गर्ने प्रशिक्षण कार्यक्रममा अनलाईन मिटिङ्ग प्लेटफर्म जूममार्फत जोडिन सकिने छ ।
सिली प्रशिक्षण यहि वैशाख ५ देखि जेष्ठ १६ (अप्रिल १७ देखि मे २९) सम्म प्रत्येक बुधबार र आइतबार नेपाली समयानुसार साँझ ५ बजेदेखि ८ बजेसम्म संन्चालन हुने सुम्निमा सङ्घकी उपाध्यक्ष मनीषा राईले जानकारी दिइन् ।

“किरात राई यायोक्खा, जापान तथा किरात राई सुम्निमा संघले आफ्नो धर्म, कला, संस्कृती र भेषभूषालाई सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले साकेला सिली प्रशिक्षण तालिमको आयोजना गरिने भएको हो ।”, सङ्घकी उपाध्यक्ष राईले भनिन्, “उक्त तालिममा साकेला सिलीको विशेषता परिभाषा र खोज अनुसन्धान मूलक जानकारी सहित प्रत्यक्ष सिली नाचेर प्रशिक्षण गराइने छ ।”
कार्यक्रमको समापनको दिन प्रशिक्षणमा सहभागी सबैलाई प्रमाणपत्र दिइने सुम्निमा सङ्घकी उपाध्यक्ष राईले जानकारी दिइन्। कार्यक्रम एक महिना सम्म हुने र जुन सुकै देशमा बसोवास गर्ने किराती गैर किरातीहरुले सहभागी जनाउन सक्ने कार्यक्रम संयोजक तथा किरात राई यायोक्खा, जापान केन्द्रीय उपाध्यक्ष सुदन राईले जनकारी दिनुभयो ।





