युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालाका रूपमा विकास गर्नका लागि बजेट अभाव रहेको बताउनुभयो ।
उहाँले मूलपानी, विराटनगरको गिरिजाप्रसाद कोइराला, बैतडीको दशरथ चन्द, कैलालीको फाप्ला र काठमाण्डाैकाे सुवर्णशमशेर क्रिकेट रङ्गशाला निर्माणका लागि कार्यक्रम रहे पनि पर्याप्त बजेट नहुँदा गति सुस्त भएको स्वीकार्नुभयो ।
खेलकुदमन्त्री श्रेष्ठले खेलाडीलाई प्रोत्साहनका लागि पनि बजेट नभएको बताउनुभयो । बैठकमा राष्ट्रिय खेलकुद् परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले दशरथ रङ्गशालाको मूल ढोका निर्माण गर्न लागिएको र कीर्तिपुरको क्रिकेट खेल मैदानमा ‘फ्लड लाइट’ जडानको प्रक्रिया शुरु भएको बताउनुभयो ।





