कविकिरण न्यौपाने -नागोया / जापान
जापानको नागोयामा सम्पन्न तेश्रो नेपाल फेस्टिभलको आय-व्यय सार्वजनिक गरिएको छ। जून ८ तारिख शनिबार र ९ तारिख आइतबार नागोयाको आईची प्रिफेक्चरमा नेपाल फेष्टिबलको आयोजना गरिएको थियो। फेस्टिभल सम्पन्न गर्नका लागी जापानमा रहेका नेपाली र नेपालीका संघ-संस्था एवं जापनिज र जापनिजका संघ-संस्थाहरुबाट आर्थिक सहयोग संकलन गरिएको थियो। फेस्टिभलमा १ करोड ११ लाख ८६ हजार ३ सय ९३ आर्थिक संकलन भएको छ। त्यस्तै फेस्टिभलमा खर्च ८५ लाख ३९ हजार ५ सय १६ भएको बताईएको छ। फेस्टिभलमा सहयोगी दाताबाट ६८ लाख ६९ हजार ३ सय ९३ र स्टलहरु बाट ४३ लाख १७ हजार संकलन भएको छ। खर्च कटाएत फेस्टिभलको बचत रकम २६ लाख ४६ हजार ८ सय ७७ येन रहेको छ।
उक्त फेस्टिभलका संरक्षक समेत रहेका आर्थिक संयोजक दिपक कार्कीका अनुसार जुनसुकै सामाजिक कार्य गर्दा आर्थिक पारदर्शिता हुनु जरुरी छ। जापानमा यस अघि हुने गरेका कतिपय कार्यक्रमका आय – व्यय सार्वजनिक नगरिएको बताउँदै जस्का कारण जनमानसमा विश्वास घट्ने कार्कीले बताए । फेस्टिभलको आय – व्यय प्रस्तुत फेस्टिभलका आर्थिक संयोजक दिपक कार्कीले गरेका थिए। त्यस्तै एनआरएनए क्षेत्रीय समिति नागोयाका कोषाध्यक्ष रुपेश पुनका अनुसार संस्थाको अनि फेस्टिभलको हरेक हर -हिसाब चुस्त, दुरुस्त राखिएको छ।
आय – व्यय सार्वजनिक गर्न पत्रकार सम्मेलन कार्यक्रमको अध्यक्षता एनआरएनए क्षेत्रीय समिति नागोयाका उप – संयोजक एवं फेस्टिभल आयोजक समितिका संयोजक देव घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन एनआरएनए क्षेत्रीय समितिका नागोयाका सचिव प्रतिक कार्कीले गरेका थिए भने कार्यक्रममा सहजिकरण एनआरएनए क्षेत्रीय समितिका नागोयाका उपाध्यक्ष योवन देवानले गरेका थिए।
फेस्टिभलमा आर्थिक सहयोग गर्ने केहि व्यक्तिले रकम बुझाउन केहि ढिला गरेकोले केहि समय ढिला आय – व्यय सार्वजनिक गर्न परेको एनआरएनए क्षेत्रीय समितिका नागोयाका उपाध्यक्ष कुशल पौडेलले जानकारी गराए । पौडेलका अनुसार अब भने फेस्टिभलको उठ्न पर्ने कुनै बक्यौता रकम छैन।अस्वस्थ्यताका कारण एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतम भने कार्यक्रममा उपस्थित हुन नसकेको बताईएको छ।बेलाबेलामा जापानको बिभिन्न शहरहरुमा नेपाल फेस्टिभल आयोजना गरिए पनि आर्थिक पारदर्शी नहुने र घाटा देखाउने प्रवृति नदेखिएका होईनन् । जापानको तेश्रो ठूलो शहर नागोयामा भएको फेस्टिभल बाट अरुले पनि धेरै सिक्न सक्छन । जापानमा यतिबेला २ लाखको हाराहारीमा नेपालीहरु रहेका छन्। बेला बेलामा जापनिज माँझ नेपाल र नेपाली चिनाउन गरिने यस्ता नेपाल फेस्टिभलहरुले अवश्य पनि जापानमा नेपाल र नेपाली चिनाउन योगदान गरेको छ।





