हालै गएको आकस्मिक बाढी तथा पहिरोका कारण विस्थापित भएका परिवारहरूको पुनस्र्थापना कार्यमा सहयोग पुराउने मुख्य उद्देश्यका साथ शेर्पा ब्रदर्स ट्रेक्स एन्ड एक्सपीडिसन प्रालिले विद्युतीय चुलो वितरण गरेको छ ।
फुर्वा शेर्पाको नेतृत्वमा रहेको ‘शेर्पा ब्रदर्स ट्रेक्स एन्ड एक्सपीडिसन प्रालि’ ले विदुर नगरपालिका वडा नम्बर-२ स्थित कभर्ड हल होल्डिङ सेन्टरमा पुगेर बाढीपीडितहरूलाई ४४ थान विद्युतीय चुलो (कुकिङ अप्लायन्स) हस्तान्तरण गरेको हो ।

हाल सो होल्डिङ सेन्टरमा ५६ परिवारका ६५ बालबालिकासहित जम्मा १७१ जना बाढीपीडितहरू आश्रय लिएर बसेका छन्। यहाँ दिनको समयमा महिला तथा बालबालिका सुरक्षित रूपमा बस्ने गरेका छन् भने पुरुषहरू स्थानीय सरकारले तोकेको स्थानमा अस्थायी आवास निर्माणका लागि कडा परिश्रम गरिरहेका छन्।
यहाँ आश्रित सबै पीडितहरूलाई सुरक्षित रूपमा स्थानान्तरण गरेसँगै उक्त होल्डिङ सेन्टरलाई औपचारिक रूपमा बन्द गर्ने लक्ष्य राखिएको छ। यसअघि नै ८२ जना व्यक्तिहरू नयाँ बासस्थानमा सरिसकेका छन्। यी नयाँ विद्युतीय उपकरणहरूले परिवारहरू आफ्ना अस्थायी घरमा सर्नेबित्तिकै खाना पकाउन र
दैनिक जीवन सहज रूपमा अगाडी बढाउन सहयोग पुग्ने शेर्पाले बताउनूभयो।





