सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापानमा पुनः निर्यातका लागि सरकारले पहल गरिरहेको भए पनि कोशी प्रदेशका केही निजी डेरीहरूले विगत छ महिनामा २० टन घिउ उत्पादन गरेर निर्यात गरिसकेको अधिकारीहरूले बताएका छन्।
विक्रम संवत् २०७७ सालबाट डीडीसीले जापानमा घिउ निर्यात थालेको भए पनि बीचमा त्यसले निरन्तरता पाउन नसकेपछि अहिले पुनः पहल थालिएको डीडीसीका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले बताए।
“हामीले तिहारअगाडि १,००० किलोग्राम घिउ जापान पठाएका थियौँ। घिउको बट्टामा अङ्ग्रेजी र जापानी भाषा हुनुपर्ने, लेबलिङमा कन्ट्री अफ ओरिजिन, कस्तो उत्पादन भनेर खुलेको हुुनपर्नेसहितका केही रिक्वायरमेन्ट (आवश्यकता) उनीहरू(जापान सरकार र आयातकर्ता) ले पूरा गर्न भनेपछि हामीले त्यो पूरा गरेर पठाएका छौँ,”
महाप्रबन्धक पौडेलले भने।”उताबाट थप जबाफ केही आएको छैन। हामीसँग भएको सहमति चाहिँ हप्ताको एक हजार किलोग्राम घिउ निर्यात गर्ने भन्ने हो।”
पौडेलका अनुसार मागअनुसार घिउ आपूर्ति गर्न सकिनेबारे पनि जापानी पक्षलाई आश्वस्त पारिएको छ।
पाँच वर्षअगाडि जापानमा घिउको निर्यात थाल्दा नेपालले सुरुमा ६० हजार लिटर घिउ निर्यात गरेको थियो।तर बिस्तारै जापानको मागअनुसार आपूर्ति गर्न नेपालले नसकेपछि त्यो प्रक्रिया रोकिएको बताइन्छ।
@bbc





