नेपाल मगर संघ जापानले आयोजना गरेको माघे सङ्क्रान्ति विशेष सांगीतिक कार्यक्रमका लागि ख्यातिप्राप्त कलाकार रितु थापा मगर (नेपालबाट) र संगिता थापा मगर (अमेरिकाबाट)आज जापान आइपुगेका छन्।
हानेदा विमानस्थलमा नेपाल मगर संघ जापानका अध्यक्ष रामहरि खपांगी मगरसहितको टोलीले कलाकारहरूलाई भव्य स्वागत गरेको थियो। टोलीमा महासचिव भिक्टर ठाडा मगर, वरिष्ठ उपाध्यक्ष प्रेम प्रकाश रोका मगर, वरिष्ठ सल्लाहकार नबिन थापा मगर, सल्लाहकार लक्ष्मण घर्ती मगर, कोषाध्यक्ष सबिनबाबु थापा मगर र दुर्लव सारु मगर लगायतका पदाधिकारीहरू सहभागी थिए।
अमेरिकन एयरलाइन्सको उडानबाट आज दिउँसो २:३० बजे कलाकारहरू जापान आइपुगेका हुन्। महासचिव भिक्टर ठाडा मगरका अनुसार, कलाकारहरू भोलि बिहानै नागोयाका लागि प्रस्थान गर्नेछन्।

यस कार्यक्रमको मुख्य उद्देश्य म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका-४ घर भई हाल इटाबाशी चुओ अस्पतालमा दुवै मृगौला फेल भएर डायलासिस गराइरहेकी एलिना पुन मगरको उपचारका लागि कोष सङ्कलन गर्नु हो। आगामी जनवरीमा एलिनालाई उहाँकी आमा एक मृगौला दान गर्ने तयारीमा हुनुहुन्छ। एलिनाको उपचारका लागि ठूलो रकम आवश्यक परेकाले नेपाल मगर संघ जापानले यो सांगीतिक कार्यक्रम आयोजना गरेको हो।
नेपाल मगर संघ जापानका अध्यक्ष रामहरि खपांगी मगरका अनुसार, कार्यक्रम जनवरी १२ तारिखमा नागोया, १३ तारिखमा ओसाका, १४ तारिखमा फुकुओका, १८ तारिखमा गुन्मा र १९ तारिखमा टोकियोमा आयोजना हुनेछ। नेपालबाट आमन्त्रित कलाकारहरुको साथमा जापानमा रहेका स्थानीय कलाकारहरू चेतन घर्ती मगर, रचना मगर, याम जर्घामगर, मोडल डान्सर कामना फगामी मगर र सागर पुन मगर लगायतका स्थानीय कलाकारहरूले पनि आफ्नो दमदार प्रस्तुति दिने बताइएको छ।





