जापानमा राहदानी धारण गर्ने नागरिकको संख्या घटेको छ। नयाँ तथ्यांक अनुसार, जापानमा ६ जनामध्ये जम्मा १ जनासँग मात्रै वैध राहदानी रहेको छ। यो संख्या कोरोना महामारी अघिको तुलनामा निकै कम हो। महामारीको समयमा लगाइएको यात्रा प्रतिबन्ध र सीमा बन्दले गर्दा विदेश यात्रामा कमी आएको थियो, जुन अहिले बिस्तारै सुधार हुँदै गएको भएपनि पुरानै अवस्थामा पुग्न सकेको छैन।
जापानको राहदानी विश्वकै शक्तिशाली राहदानीमध्येमा पर्दछ। यसले १९० वटा गन्तव्यमा बिना भिसा यात्रा गर्न अनुमति दिन्छ। तर, राहदानी हुने नागरिकको संख्या कम हुनुको मुख्य कारण भनेको येनको कमजोर अवस्था, बढ्दो मुद्रास्फीति र आन्तरिक यात्रामा बढेको चासो रहेको विश्लेषकहरु बताउँछन्। पछिल्लो पाँच वर्षमा येनको मूल्य एक तिहाइले घटेको छ।
यसैबीच, जापानमा विदेशी पर्यटकको आगमन भने बढ्दो क्रममा छ। गत वर्ष ३ करोड ६० लाखभन्दा बढी पर्यटकले जापान भ्रमण गरे। तर, जापानी नागरिकहरुको विदेश यात्रा भने घटेको छ। सन् १९९० मा १ करोडभन्दा बढी जापानी नागरिकले विदेश यात्रा गरेका थिए भने महामारी अघि यो संख्या २ करोड पुगेको थियो। तर, यस वर्ष १ करोड ४१ लाख जापानी नागरिकले विदेश यात्रा गर्ने अनुमान गरिएको छ। येनको मूल्य स्थिर भएपछि विदेश यात्रा बढ्ने अनुमान गरिएको छ।
© २०२५ एएफपी





