जापानको लोकप्रिय पर्यटकीय गन्तव्य माउन्ट फुजी आरोहण गर्न अब शुल्क लाग्ने भएको छ। स्थानीय अधिकारीहरूले सोमबार एक विधेयक पारित गर्दै यस गर्मीदेखि माउन्ट फुजीका चार मुख्य पदमार्गहरूमध्ये कुनै पनि आरोहण गर्ने पदयात्रीहरूलाई ४,००० येन प्रवेश शुल्क लाग्ने व्यवस्था गरेका हुन्। जापानमा विदेशी पर्यटकहरूको संख्या बढेसँगै माउन्ट फुजीमा अत्यधिक भीडभाड बढेको छ, जसले सुरक्षा र वातावरणमा असर पारेको छ।
गत वर्ष यामानाशी प्रिफेक्चरले सबैभन्दा लोकप्रिय पदयात्रा मार्ग, योशिदा ट्रेलको लागि २,००० येन प्रवेश शुल्क र स्वैच्छिक दानको व्यवस्था गरेको थियो। तर, यस वर्षदेखि यो शुल्क दोब्बर हुनेछ। साथै, छिमेकी शिजुओका प्रिफेक्चरले पनि आफ्नो तीन पदमार्गहरूको लागि ४,००० येन शुल्क लिने विधेयक पारित गरेको छ। नयाँ प्रतिबन्धका कारण गत वर्ष माउन्ट फुजी आरोहण गर्ने पर्वतारोहीको संख्या घटेको थियो, तर यो संख्या अझै पनि महामारीपूर्वको तुलनामा धेरै छ।

शिजुओका प्रिफेक्चरका अधिकारी नात्सुको सोडेयामाले भने, “जापानमा दुई महिनाभन्दा बढीको अवधिमा यति धेरै मानिसहरूलाई आकर्षित गर्ने अर्को कुनै पहाड छैन। त्यसैले तिनीहरूको सुरक्षा सुनिश्चित गर्न केही प्रतिबन्धहरू आवश्यक छन्।” माउन्ट फुजी वर्षको अधिकांश समय हिउँले ढाकिएको हुन्छ, तर गर्मीको मौसममा धेरै मानिसहरू सूर्योदय हेर्न रातभरि यसको उकालो चढ्छन्।





