टोकियो, जापान
एन.पि.ओ होजिन थकाली सेवा समितिद्वारा आयोजित राष्ट्रकवि स्व. भूपि शेरचनको स्मृतिमा छैटौँ अन्तर-बाउलिङ रनिङ कप प्रतियोगिता मे २५, २०२५, आइतबार सफलतापूर्वक सम्पन्न भएको छ।
टोकियोको सन्नी बाउलिङ ,सिन्कोइवामा बिहान ९:४५ बजेदेखि १२:३० बजेसम्म चलेको यस प्रतियोगितामा पुरुष खेलाडीहरूले मात्र सहभागिता जनाएका थिए।
प्रतियोगितामा शेरचन टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्यो भने भट्टचन टिम द्वितीय हुन सफल भयो। प्रतियोगितामा प्रत्येक टिमका खेलाडीहरूले पनि ५/५ जनाको समूहमा प्रतिस्पर्धा गरेका थिए। व्यक्तिगततर्फ भूपिन गौचनलाई उत्कृष्ट खेलाडी (Best Player) घोषित गरियो।

प्रथम र द्वितीय हुने टोलीलाई उनीहरूको उत्कृष्ट प्रदर्शनको कदरस्वरूप प्रमाणपत्रको साथमा नगद ५ मान र ३ मान येन प्रदान गरिएको थियो।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि शरद गौचन, सभापति बुद्धि गौचन र संयोजक कुमार सेरचन लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
एन.पि.ओ होजिन थकाली सेवा समितिले नेपाली समुदायमा खेलकुद र भाइचारा अभिवृद्धि गर्न यस्ता प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। आयोजकले भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ, यस प्रतियोगिताले जापानमा रहेका थकाली समुदायबीच खेलकुदको माध्यमबाट भाइचारा र एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।





