गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५-२०२७) को लागि चुनावी सरगर्मी बढिरहेका बेला सामाजिक अभियन्ता बिनय गुरुङले खुल्ला सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
“अबको एनआरएनएमा युवाको सहभागिता सहित पारदर्शिता, सक्रियता र शुद्धतामा मेरो प्रतिबद्धता” भन्ने मूल नाराका साथ उनले लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा सहभागिता जनाउने योजना बनाएको बताएका छन्।
सामाजिक कार्यमा १२ वर्षभन्दा लामो अनुभव
गुरुङले आफू विगत १२ देखि १४ वर्षदेखि निःस्वार्थ रूपमा सामाजिक क्षेत्रमा सक्रिय रहेको जानकारी दिएका छन्। उनले आफ्नो दैनिक जीवनबाट बचेको समय सामाजिक सेवामा बिताएको र यस कार्यबाट नै सबैभन्दा बढी आनन्द र मनमा शान्ति मिल्ने गरेको बताए।
करिब ९ वर्षअघि जन्मभूमि नेपाल छोडेर जापानलाई कर्मभूमि बनाएका गुरुङ जापानस्थित विभिन्न सामाजिक संघसंस्थाहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न भई जापानवासी नेपालीहरूको दुःखसुखमा हातेमालो गर्दै आएका छन्। स्वदेशमा रहँदादेखि नै सामाजिक क्षेत्रमा सक्रिय रहेकाले परदेशमा पनि यस क्षेत्रबाट टाढा रहन नसकेको उनले बताए।
विविध भूमिकामा सक्रियता र पूर्व अनुभव
बिनय गुरुङ हाल NRNA जापानको केन्द्रीय सदस्यका साथै तमू धीं जापानको महासचिव, नेपाल आदिवासी जनजाति महासंघ जापान शाखाका कान्तो क्षेत्रीय सचिव र दोलखा समाज जापानका निवर्तमान सचिव पदमा रहेर सक्रिय छन्।
प्रवासी नेपालीहरूको हक, हित, अधिकार र संरक्षण गर्ने साझा संस्था गैरआवासीय नेपाली संघ (NRNA) जापानसँग पनि आफू विगत केही वर्षदेखि प्रत्यक्ष रूपमा जोडिएर सामाजिक कार्यमा सक्रिय रहेको उनको भनाइ छ।
उनले सन् २०२१-२०२३ कार्यकालका लागि भएको NRNA जापानको राष्ट्रिय अधिवेशनमा पनि कार्यसमिति सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका थिए। यद्यपि, त्यतिबेला पराजित भए पनि आफ्नो नेपाली समुदायप्रतिको दृढ संकल्पले गर्दा मानसिक रूपमा निराश नभएको बताए।
प्राप्त मतलाई आफूले सर्वमान्य ठानेको र त्यसले थप हौसला तथा आत्मबल बढाएको उनको भनाइ छ। आफूलाई प्राप्त मतको ऋणी भएको महसुस गर्दै उनले कहिल्यै पनि मतदाताहरूको विश्वासको अवमूल्यन नगर्ने प्रतिबद्धता व्यक्त गरे।
NRNA जापान लगायत अन्य सामाजिक संघसंस्थाहरूका प्रायः सबै कार्यक्रमहरूमा भौतिक रूपमा उपस्थित भई आफ्नो क्षमताअनुसार कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए।
चुनौती र अठोट
सामाजिक कार्य गर्ने क्रममा विभिन्न व्यक्ति र पक्षहरूबाट नकारात्मक टिप्पणी तथा अवरोधहरू आए पनि आफू सधैं सकारात्मक सोचका साथ अगाडि बढेको गुरुङको भनाइ छ।
गोरेटोमा हिँड्दा ढुङ्गा हान्ने, बाटो छेक्ने वा काँडेबार लगाउने जस्ता अवरोधहरूलाई पन्छाउँदै आफ्नो यात्रालाई निरन्तरता दिनुपर्छ भन्ने कुरामा उनी स्पष्ट छन्। यस्ता चुनौतीहरूले गर्दा आफूलाई समाजका लागि केही गरेर देखाउनुपर्छ भन्ने उच्च मनोबल बढेको उनले बताए।
अन्तमा, गुरुङले विगतका वर्षहरूदेखि नै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको र आगामी दिनहरूमा पनि यसैगरी निरन्तर सक्रिय रहने अठोट व्यक्त गरेका छन्। उनले जापानवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको अमूल्य माया, सद्भाव, साथ, सहयोग र समर्थनको अपेक्षासहित यसपटक खुल्ला सचिव पदमा सबैभन्दा बढी मतका साथ अग्रस्थानमा विजय गराइदिन हार्दिक अनुरोध र अपिल गरेका छन्।
उनको जित नै जापानमा रहेका नेपाली समुदायको जित हुने विश्वास व्यक्त गर्दै अत्यधिक मतका साथ विजयी गराइदिन आग्रह गरेका छन्।
बिनय गुरुङ
खुल्ला सचिव पदका उम्मेदवार
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA) जापान
दोलखा, नेपाल (हाल: योकोहामा, जापान)





