जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको भाषा, सिर्जनशीलता र व्यक्तित्व विकासमा टेवा पुर्याउने मूल उद्देश्यका साथ दौतरी जापानले “नेपाली विद्यार्थी स्पीच प्रतियोगिता २०२५” सफलतापूर्वक सम्पन्न गरेको छ।

चिबामा आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्ना विचार र भावनाहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न एक उत्कृष्ट मञ्च प्रदान गरेको थियो। यसबाट सहभागी विद्यार्थीहरूले आफ्नो भाषिक सीप र सार्वजनिक प्रस्तुतीकरण क्षमतालाई निखार्ने महत्त्वपूर्ण अवसर पाएका छन्।

 

प्रतियोगिताका लागि प्राप्त भएका उत्कृष्ट भिडियोहरूको दौतरी जापानले निष्पक्ष समीक्षा गरी १० जना विद्यार्थीहरूलाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरेको थियो।

छनोटमा पर्ने विद्यार्थीहरूमा खड्का साबित्रा, पोखरेल पूजा, कार्की बिनीता, पाठक राहुल, बुढाथोकी सुमित, तिवारी भीष्म, परियार जस्टिन, ओली केशब राज, रावल खुम बहादुर र अर्याल दिलीप रहेका थिए।

उनीहरूले तोकिएको ५ मिनेटको समय सीमाभित्र आफ्नो भाषण प्रस्तुत गरेका थिए, जसमा उनीहरूको अभिव्यक्ति शैली, विषयवस्तुको गहनता र प्रस्तुतीकरणको प्रभावकारिता लाई निर्णायक मण्डलले नजिकबाट नियालेको थियो।

प्रतियोगिता २०२५ जुलाई ५ तारिखका दिन दिउँसो १:३० बजेदेखि ४:०० बजेसम्म चिबा, जापानमा सम्पन्न भएको थियो। कार्यक्रमको मुख्य आकर्षणहरूमा छनोट भएका १० विद्यार्थीहरूको प्रत्यक्ष भाषण प्रस्तुति, निर्णायक मण्डलको टिप्पणी, र उत्कृष्ट तीन प्रतियोगीको घोषणा तथा पुरस्कार वितरण रहेका थिए। प्रतिस्पर्धी विद्यार्थीहरूले औपचारिक तथा सभ्य पोशाकमा सजिएर आफ्नो प्रस्तुति दिएका थिए, जसले कार्यक्रमको गरिमालाई अझ बढाएको थियो।

यस प्रतियोगितामा बिनिता कार्कीले प्रथम स्थान हासिल गरिन्, जो 日本国際工科専門学校 मा दोस्रो बर्षमा अध्ययनरत  विद्यार्थी हुन्। त्यस्तै, सुमित बुढाथोकीले द्वितीय स्थान प्राप्त गरे, उनी 駿台ITビジネスカレッジ का दोस्रो बर्षमा अध्ययनरत  विद्यार्थी हुन्। तेस्रो स्थान भने सावित्रा खड्काले ओगटिन्, जो 西武文理大学 मा चौथो वर्षमा अध्ययनरत छिन्।

आयोजकले प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई क्रमशः ¥७०,०००, ¥४०,००० र ¥२०,००० नगद पुरस्कार प्रदान गरिएको थियो। दौतरी जापानको यो प्रयासले जापानमा रहेका नेपाली विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय