टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न निर्वाचनमा राकेश लामाले कोषाध्यक्ष पदसम्मको उम्मेदवारी घोषणा गरेका छन्।

विगत १२ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय रहेका लामाले कान्तो क्षेत्रबाट केन्द्रसम्मको आफ्नो लामो यात्रामा जिम्मेवारपूर्वक काम गरेको र संस्थागत विषयमा विभिन्न अनुभव बटुलेको बताएका छन्।

संस्थाभित्रको आन्तरिक राजनीति र समावेशीताको अभावले आफूलाई स्वतन्त्र रूपमा उम्मेदवारी दिन बाध्य बनाएको उनको भनाइ छ। लामाले केही उम्मेदवारहरू विधान मिचेर वा आर्थिक प्रभावमा परेर अगाडि बढेको आरोप लगाउँदै, चुनाव जितेपछि केही महिना मात्र सक्रिय हुने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

जिल्लागत प्रभाव र आर्थिक क्षमताले मात्रै चुनाव जित्ने परिपाटीका कारण आफूसँग पर्याप्त व्यक्तिगत भोट वा जिल्ला संस्थाको समर्थन नभए पनि आफ्नै क्षमता र साथीभाइको मायामा विश्वास राख्दै ‘कोषाध्यक्ष’ पदमा उम्मेदवारी दिएको उनले स्पष्ट पारेका छन्।

लामाले आफू यस अभियानमा नौलो नभएको र अध्यक्षका प्रत्यासीहरू जस्तो कुनै विशेष प्यानलको सहारा नलिई अगाडि बढ्ने बताएका छन्। उनले आफ्नो कार्यकालमा हरेक साथीभाइ, अग्रजहरू र अभियन्ताहरूसँग सल्लाह सुझाव लिँदै अगाडि बढ्ने सोच बनाएका छन्।

विगतमा केही नजिकका विश्वासपात्रहरूबाट समेत अप्रिय अनुभव भएको स्वीकार गर्दै, उनले संस्थाभित्रको ‘घिनलाग्दो राजनीति’ राम्रोसँग बुझेको दाबी गरे।

अन्तमा, लामाले आफ्ना कुराहरू टेलिफोन, सन्देश वा प्रत्यक्ष भेटेर विस्तृत रूपमा छलफल गर्ने बताएका छन्। उनले अध्यक्ष पदमा कसलाई नैतिक समर्थन गर्ने भन्ने विषय जुलाई २१ पछि मात्रै सार्वजनिक गर्ने जानकारी दिएका छन्।

पूर्व युवा संयोजक (२०२१-२०२३) समेत रहेका राकेश लामाको यो स्वतन्त्र उम्मेदवारीले एनआरएनए जापानको निर्वाचनमा नयाँ आयाम थपेको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय