टोकियो, जापान – जापानको गुन्मा प्रान्तमा लामो समयदेखि नेपाली समुदायको सेवा र सामाजिक गतिविधिमा सक्रिय रहनुभएका कृष्ण बहादुर पाण्डे क्षेत्रीले गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि खुला सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्नुभएको हो।
गुन्मा क्षेत्रलाई आफ्नो कर्मभूमि बनाउँदै विगत एक दशकदेखि जापानमा बसोबास गर्दै आउनुभएका पाण्डे क्षेत्रीले NRNA गुन्माअन्तर्गत विभिन्न जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ।
उहाँले सन् २०१५–२०१७ मा संस्थापक कोषाध्यक्ष, २०१९–२०२१ मा उपसंयोजक, तथा हाल २०२३–२०२५ को कार्यकालमा सल्लाहकारको भूमिका निर्वाह गर्दै आउनुभएको छ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै पाण्डे क्षेत्रीले भन्नुभयो, “प्रवासीको साझा मञ्च, हामी सबैको आवाज – NRNA जापान” भन्ने नारालाई आत्मसात गर्दै पारदर्शी, जिम्मेवार र सहभागी–मुखी नेतृत्वमार्फत समुदायको हितमा अझ प्रभावकारी ढंगले योगदान गर्न आफू प्रतिबद्ध रहेको छु।
उहाँले जापानभरिका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा समुदायसँग साथ, समर्थन र विश्वासको अपेक्षा व्यक्त गर्नुभएको छ।





