गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् जापानको १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । यससँगै आगामी दुई वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्न आज निर्वाचन सम्पन्न भएको छ।
निर्वाचन समितिले जनाएअनुसार एनआरएन जापानको कुल १८ हजार ३ सय १४ मतदातामध्ये १२ हजार ३ सय ४५ (६७.४१ प्रतिशत) मत खसेको थियो।
प्रमुख निर्वाचन आयुक्त तिलक मल्लका अनुसार भर्चुअल भोटिङमार्फत भएको निर्वाचनमा सुभास लामिछाने ७ हजार १ सय ५२ मतका साथ अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सिद्धार्थ श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरे।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल ६ हजार ४ सय १८ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कृष्ण गेरे शर्माले ५ हजार ९ सय २७ मत प्राप्त गरे।
क्षेत्रीय उपाध्यक्षतर्फ विष्णुप्रसाद सुवेदी (विश्व) ६ हजार ९ सय ८३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी हरिप्रसाद कँडेलले ५ हजार ३ सय ६२ मत पाए।
तीन खुल्ला उपाध्यक्षहरुमा क्रमशः मुक्तिराम खनाल (विनोद) ८ हजार ७ सय २, दिलिप कँडेल ६ हजार ९ सय ४९, र दिपक सुनार ६ हजार १ सय १ मत प्राप्त गरी विजयी भएका छन्। यस पदमा नारायण सुवेदीले ५ हजार ९ सय २८, दिपेश खत्री (केसी) ले ५ हजार ७ सय ८३, र रुद्र मल्ल (मनोज) ले ३ हजार ५ सय ७२ मत प्राप्त गरे।
महासचिवमा श्यामकुमार श्रेष्ठ (श्याम शितल) ६ हजार ३ सय ८४ मतसहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी विश्वास गौतम (खगराज) ले ५ हजार ९ सय ६१ मत प्राप्त गरे।
अमेरिकी कम्पनी भोताजको प्रणालीबाट सञ्चालित भर्चुअल निर्वाचनमा जापानका नेपालीहरूले आइतबार मतदान गरेका थिए। बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ८ बजेसम्म चलेको थियो।
निर्वाचन समितिका सदस्य-सचिव भूपिगोविन्द श्रेष्ठका अनुसार मतदान चलिरहँदा निर्वाचन समितिको कार्यालयमा अध्यक्षका प्रत्यासीद्वय सुभास लामिछाने र सिद्धार्थ श्रेष्ठका प्रतिनिधि विष्णुप्रसाद सुवेदी र सचिन आचार्यको उपस्थिति रहेको थियो। यस्तै, आईसीसीका प्रतिनिधि उपाध्यक्ष रोबिन शेरचन, एनआरएनए आईसीसी सल्लाहकार ओम गुरुङ र एसिया प्यासिफिक क्षेत्रीय समितिका उपसंयोजक दिपक कँडेलको पनि विशेष उपस्थिति रहेको थियो।
प्रमुख निर्वाचन आयुक्त मल्लले मतपरिणाम घोषणा गरेका थिए भने विजयी सबैलाई आईसीसी उपाध्यक्ष शेरचनले बधाई दिएका थिए।
एनआरएन जापानको केन्द्रीय समितिमा निर्विरोध चयन भएका बाहेक अन्य पदहरुका साथै नागोया क्षेत्र र क्युशु क्षेत्रको पनि एकैदिन अनलाइन भोटिङ भएको निर्वाचन समितिका अर्का सदस्य केशर गिरीले बताए।
जापानबाट आईसीसीमा प्रतिनिधित्व गर्ने आठ जना सदस्य भने यसअघि नै निर्विरोध चयन भइसकेका छन्। निर्विरोध चयन हुनेहरूमा कृष्ण केसी, टिकाराम कँडेल, रामबहादुर खत्री, शिवहरि पौडेल, यदुराम सापकोटा, राजकुमार अधिकारी, सुमन कार्की र रामबहादुर थापा रहेका छन्।
यसैगरी, लेखा तथा अनुशासन समितिको संयोजकमा सचिन श्रेष्ठ, महिला उपाध्यक्षमा अञ्जु भण्डारी, महिला सचिव ललिता तामाङ, महिला सहकोषाध्यक्ष कामना भण्डारी, महिला संयोजक मञ्जु बन र महिला सदस्यद्वय ईश्वरी अर्याल र सन्तोषी अधिकारी पनि निर्विरोध चयन भइसकेका छन्। लेखा तथा अनुशासन समितिको सदस्यद्वयमा कृष्णप्रसाद कँडेल र अशोक निरौला पनि निर्विरोध चयन भएका हुन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय