गाजामा चलिरहेको युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायली पूर्वअधिकारीहरूले अपील गरेका छन् ।

गुप्तचर निकायका पूर्वप्रमुखहरूसहित झन्डै ६ सय जना सेवानिवृत्त इजरायली सुरक्षा अधिकारीहरूको समूहले ट्रम्पलाई गाजामा युद्ध तुरुन्तै अन्त्य गर्न इजरायललाई दबाव दिन पत्र लेखेका बीबीसीले जनाएको छ । हमास अब इजरायलका लागि रणनीतिक खतरा नभएको आफूहरूको निर्णय रहेको अधिकारीहरूले बताएका छन् ।

शुरूमा युद्ध न्यायपूर्ण र रक्षात्मक भए पनि अहिले युद्ध न्याय विपरीत भएको शिन बेट सुरक्षा सेवाका पूर्वनिर्देशक अमी अयालोनले बताउनुभएको छ । प्यालिस्टिनी लडाकू समूहसँगको युद्धमा इजरायलले आफ्नो सुरक्षा र पहिचान गुमाइरहेको अयालोनले पत्रको साथमा सार्वजनिक भिडियोमा बताउनुभएको छ ।

पत्रमा ट्रम्पलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्धविरामका लागि ‘नेतृत्व’ गर्न आह्वान गरिएको छ ।

हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको जवाफमा इजरायलले गाजा पट्टीमा सैन्य कारबाही शुरू गरेको थियो । पछिल्लो समयमा बन्धकहरूलाई गाजाबाट रिहा गर्न, संयुक्त राष्ट्रसङ्घका निकायहरूलाई मानवीय सहायता वितरण गर्न दिन र युद्धविराममा सहमत हुन इजरायलमाथि बढ्दो अन्तर्राष्ट्रिय दबावमा परेको छ ।

पत्रमा पूर्वअधिकारीहरूले ट्रम्पलाई धेरैजसो इजरायलीहरूसँग विश्वसनीयता रहेको तथा युद्ध अन्त्य गर्न र बन्धकलाई फिर्ता गर्न नेतान्याहुलाई दबाव दिन सक्ने बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय