नेपाल पत्रकार महासंघ जापान शाखाको छौंटौ अधिवेशनका लागी जापान आउनुभएका पत्रकार महासघ केन्द्रिय अध्यक्ष निर्मला शर्मा र जापानी पत्रकार बीच शुक्रबार टोकियोमा अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ जापान शाखाको समन्वयमा आयोजित कार्यक्रममा पत्रकारिताका विभिन्न पक्षमा सार्थक संवाद भएको हो ।
अध्यक्ष शर्माले नेपाली पत्रकारिताको वर्तमान अवस्था, विद्यमान चुनौती तथा बदलिंदो विश्व–परिवेशमा पत्रकारिताको भूमिकाबारे विचार प्रस्तुत गर्दै प्रविधि र अन्तर्राष्ट्रिय अनुभवको प्रभावकारी उपयोगले नेपाली पत्रकारिता अझ सुदृढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।

महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले जापानी पत्रकारितामा रहेको अनुशासन, कार्यशैली, तथ्य पुष्टिकरण प्रक्रिया तथा सकारात्मक व्यावसायिक दृष्टिकोण नेपालका पत्रकारका लागि प्रेरणादायी हुनसक्ने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै सहभागी जापानी पत्रकार मिसा हिगुची, हिरोखाजु मुरोहाशी र चिका फुकाबोरीले विश्वभर तीव्र गतिमा फैलिंदै गएको कृत्रिम बुद्धिमत्ता (AI) ले पत्रकारितामा ल्याएका अवसर र चुनौतीबारे विश्लेषण साझा गर्दै नेपालमा प्रेस स्वतन्त्रता, सरकारी नियमन तथा पत्रकारहरूको पारिश्रमिक संरचनाप्रति विशेष जिज्ञासा राखे।

नेपाल र जापानका पत्रकारबीच भएको यस संवादले दुवै देशमा पत्रकारिता अभ्यास, आपसी अनुभव आदान-प्रदान तथा प्रविधिजन्य रूपान्तरणका क्षेत्रमा सहकार्यका नयाँ अवसरहरू खुला गरेको छ।
कार्यक्रममा जापानमा रहेका पत्रकारको बाक्लो उपस्थिती रहेको थियो । अध्यक्ष शर्मा १ हप्ताको भ्रमण सकेर आज नेपाल फर्कदै हुनुहुन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय