चिबा, जापान

गैर आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय परिषद् चिबाले जापानमा रहेका विदेशी नागरिकहरूका लागि हालै परिवर्तन गरिएका नियम र कानुनहरूका बारेमा जानकारी दिन एक विशेष अन्तर्क्रियात्मक वेबिनार आयोजना गर्ने भएको छ । यो कार्यक्रम एनआरएनए चिबाको २०२५-२०२७ कार्यकालको पहिलो शृङ्खला (1st Episode) को रूपमा सञ्चालन हुन लागेको एनआरएनए चिबाका संयोजक राजनबाबु सुबेदीले दिनुभएको छ।

जापान सरकारले समय-समयमा विदेशी नागरिकहरूसँग सम्बन्धित नियम र कानुनहरूमा परिमार्जन गर्ने गर्दछ । यी परिवर्तनहरूको बारेमा सही र आधिकारिक जानकारी नहुँदा जापानमा रहेका नेपाली विद्यार्थी, व्यवसायी तथा कामदारहरूले विभिन्न कानुनी झमेला बेहोर्नु पर्ने हुन सक्छ । त्यसैले, प्रवासी नेपालीहरूलाई नयाँ कानुनबारे प्रत्यक्ष जानकारी गराउन र उनीहरूलाई स्थानीय नियमहरूसँग अभ्यस्त बनाउन यो वेबिनार फलदायी हुने विश्वास आयोजकले लिएको छ ।

कार्यक्रममा मुख्य वक्ताको रूपमा एनआरएनए जापानका विशेषज्ञ समिति सदस्य जिज्ञान कुमार थापा उपस्थित हुनुहुनेछ । जापानी कानुन र नियमका क्षेत्रमा लामो अनुभव भएका थापाले सहभागीहरूका जिज्ञासा मेटाउनुका साथै व्यावहारिक सुझावहरू समेत प्रदान गर्नुहुनेछ ।

वेबिनार २०२५ डिसेम्बर २० तारिख, शनिबार का दिन आयोजना हुनेछ । जापानी समय अनुसार साँझ ७:०० बजे (19:00) देखि सुरु हुने यो कार्यक्रम NRNA JAPAN CHIBA को आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष (Live) हेर्न सकिनेछ ।

आयोजकले जापानमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस कार्यक्रममा सक्रियताका साथ सहभागी भई महत्वपूर्ण जानकारी लिन अनुरोध गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय