टोकियो, जापान — नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले ३२औँ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना गर्ने भएको छ।
“पहिचान, समानता र अधिकार आदिवासी जनजातिको मूल आधार” भन्ने मुख्य नाराका साथ भोलि २०२६ अगस्ट २३ (२०८३ भदौ ८ गते, आइतबार) का दिन यो कार्यक्रम हुन लागेको नेफिन जापानका कार्यवाहक अध्यक्ष बुद्धी गौचनले जानकारी दिनुभयो।

आदिवासी जनजातिहरूको पहिचान, भाषा, संस्कृति, परम्परा तथा अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम तय गरिएको हो।
यस विशेष कार्यक्रममा विभिन्न जातजातिका मौलिक कला, संस्कृति, भेषभूषा, गीत तथा नृत्य प्रस्तुत गरिनेछ। साथै, विश्व आदिवासी दिवसको महत्व, आदिवासी जनजातिको अधिकार र पहिचानका विषयमा विशेष मन्तव्य तथा शुभकामना आदानप्रदान समेत हुने नेफिन जापानका महासचिव बाल बिक्रम तिगेलाले जानकारी दिनुभयो।
यस कार्यक्रमलाई सफल बनाउन थकाली सेवा समिति जापान, नेपाल मगर संघ जापान, नेपाल तामाङ समाज जापान, शेर्पा संघ जापान, किरात याक्थुङ चुम्लुङ जापान, किरात राई यायोक्खा जापान, नेवा खल जापान र थारू कल्याणकारी सभा जापानले सह-आयोजकको रूपमा सहकार्य गरेका छन्।
कार्यक्रम टोकियोको हामामाचुच्यो स्टेसन नजिकै रहेको मन्दिर रेस्टुरेन्टमा अपराह्न १६:०० बजेदेखि सञ्चालन हुनेछ। यस गरिमामय कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाउनुका साथै जापानमा रहेका नेपाली आदिवासी जनजाति समुदायलाई थप उत्साह र प्रेरणा प्रदान गर्न आयोजकले हार्दिक अनुरोध गरेका छन्।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको र तोकिएको समयमै उपस्थित हुन सम्पूर्ण जापानबासी आदिबासी /गैरआदिवासी जनजाति दाजुभाइ दिदीबहिनी तथा अतिथिहरूमा आग्रह गरिएको छ।





