शेर्पा संस्कृति, परम्परागत भेषभूषा र नृत्य कलाको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले ‘शेर्पा डान्सिङ ट्यालेन्ट शो २०२६’ (Sherpa Dancing Talent Show 2026) को सिजन २ अन्तर्गत स्याब्रु प्रतियोगिताको अडिसन घोषणा गरिएको छ।
शेर्पा कला र संस्कृतिलाई जगेर्ना गर्दै विश्वभरका समुदायलाई जोड्ने यस प्रतियोगिताले नयाँ प्रतिभाहरूलाई उजागर गर्न ठूलो सहयोग पुर्याउने विश्वास गरिएको छ।

यो अडिसन आगामी अक्टोबर १७तारिख देखि १८ तारिखसम्म टिकटक लाइभ (TikTok Live) मार्फत सञ्चालन हुनेछ।
कार्यक्रमको समय न्यूयोर्क (अमेरिका) अनुसार बिहान १०:०० बजेदेखि १२:०० बजे (मध्यान्ह) र नेपालको समय अनुसार बेलुका ७:४५ देखि ९:४५बजेसम्म तय गरिएको छ।
यस कार्यक्रमलाई सफल बनाउन आयोजकहरू आङ निमा शेर्पा, मिङमार लामा शेर्पा, पासाङ शेर्पा र फुर्किमा शेर्पा रहेको टिमले विश्वभर रहनुभएका सम्पूर्ण शेर्पा समुदाय, दर्शक तथा उत्साही सहभागीहरूलाई टिकटक लाइभमार्फत जोडिन हार्दिक आह्वान गरेको छ।
प्रतियोगितामा पहिलो हुनेले ७०० अमेरिकी डलर, दोस्रो हुनेले ५०० अमेरिकी डलर, तेस्रो हुनेले ३०० अमेरिकी डलर र चौथो हुनेले २०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्।



