काठमाडौ– मंसिर महिना अन्न भित्र्याउने महिना हो। यतिबेला किसानहरु अन्न भित्र्याउन खेतबारीमा व्यस्त छन्। मतदाता खेतबारीमै भेटिने भएपछि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका उम्मेदवारहरु पनि खेतमै पुगेर भोट माग्न थालेका छन्।
ग्रामीण भेगका जनतालाई यतिबेला बाली थन्क्याउने चटारो छ। कतै, धान र कोदो थन्क्याइँदै छ त कतै गहुँ र जौं रोप्न हतारो छ। चुनाव प्रचारप्रसारका लागि गाउँगाउँ पुगेका उम्मेदवारहरुले घरमा मतदाता नभेटेपछि खेतीसम्मै धाएका हुन्।

दलका चुनावी प्रचार, भेला र घरदैलोमा सहभागी हुन मतदातालाई फुर्सद नभएपछि आफूहरु नै खेतबारीसम्म पुगेको सिन्धुपाल्चोक–२ को प्रदेशसभा (क) का माओवादी उम्मेदवार युवराज दुलाल शरदले बताए।
जनता आ–आफ्नै दैनिकीमा व्यस्त देखिएपछि दलहरुले चुनावी प्रचारको शैली फेरेका हुन्। चुनावी अभियानको शुरुवाती समय भएकाले ठूला सभा गर्नुभन्दा घरदैलो र खेतबारीमा पुग्ने काम थालेको शरद बताउँछन्।
‘ठूला सभामा मानिस कसले के भन्छ भन्ने मात्र सुन्न आउँछन् तर घरदैलो पुग्दा परिचय र आत्मीयता बढ्छ,’ शरदले भने, ‘आफ्नो कुरा भन्ने र उनीहरुका कुरा सुन्ने मौका पाइन्छ।’
शरदसँगै सिन्धुपाल्चोक–२ प्रदेशसभा (ख) का माओवादी उम्मेदवार दावा लामा पनि खेतबारी चहार्ने शैलीमै व्यस्त छन्। जिल्लामा प्रचार थालेका केही प्रतिनिधिसभा र अधिकांश प्रदेशसभाका उम्मेदवाले यस्तै शैली अपनाएका छन्।
खेतबारीमै जाने, थोरै भए पनि जनताको काम सघाउने र आफूतिर आकर्षण गर्ने रणनीति उम्मेदवारले लिएको देखिन्छ। चुनावी प्रचारमा रहेका गुल्मी–२ मा प्रतिनिधिसभाका एमाले उम्मेदवार गोकर्ण विष्टले पनि घरदैलोसँगै मतदाताको खेतबारी पुग्ने अभियान जारी राखेका छन्। ‘एक पटक सबैका सामु पुग्ने अभियानका साथ प्रचारमा छु,’ विष्टले भने, ‘मतदाता जहाँ भेटिन्छन्, उहीँ जानुपर्छ, यो हाम्रो मतदातासँग चिन्ने र चिनाउने मौका पनि हो।’
यसैगरी, एमाले नेता कर्णबहादुर थापा पनि खेतबारीमै पुगेर मत मागिरहेका छन्। ७ नम्बर प्रदेशको मुख्यमन्त्रीका रुपमा चर्चा गरिएका थापा बाजुराबाट प्रदेशसभामा समानुपातिक तर्फ पहिलो रोजाइका उम्मेदवार हुन्। उनी निर्वाचनको प्रचारका क्रममा उम्मेदवारको कोदो चुटिरहेका भेटिए।
खेत–खेतमा उम्मेदवार पुग्ने शैलीलाई मतदातले भने सहज र देखावटी दुवै रुपमा लिएको नेताहरुको बुझाइ छ। कतिपय ठाउँमा खेतमै जाँदा किसानहरु उत्साहित भएको बिष्टले बताए।
यस्तै, शरदको अनुभव पनि हालसम्म सकारात्मक नै छ। कतैकतै जनताले व्यंग्यको शालीन झटारो हान्ने गरेको उनीहरुको अनुभव छ।





