दिनेश थापा/ टोकियो
गल्कोट समाज जापानले जापानको तीन प्रमुख सहर ओसाका, नागोया र टोकियोमा भव्य ‘सांगीतिक श्रृंखला २०२६’ आयोजना गर्ने भएको छ।
समाजले आफ्नो २० वर्षे सामाजिक यात्रामा बनाएको विश्वास, एकता र समुदायप्रति समर्पणलाई अझ मजबुत बनाउन यस वर्षको कार्यक्रमलाई विशेष महत्व दिएको छ। सन् २००६ मा स्थापना भएको जापानलाई कर्मस्थान बनाएका गलकोटेहरुको गौरवशाली यस संस्थाले स्थापना कालदेखि नै विशेष कार्यक्रमहरु गर्दै आईरहेको छ।
अंग्रेजी नयाँ वर्ष २०२५ र २०२६ को संगितीक कार्यक्रममा “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी” भन्ने मूल मन्त्रलाई आधार बनाएर समाजले २०२५ मा भव्य रुपमा सफल पारेको थियो भने यसपटक पनि २०२५ डिसेम्बर ३१ मा ओसाका, २०२६ जनवरी १ मा नागोया र जनवरी २ मा टोकियोमा सांगीतिक कार्यक्रम गर्ने घोषणा अध्यक्ष रत्नसिङ बस्नेतले गरेका छन्।
गत वर्षको आम्दानीबाट पहिलो चरणमा गलकोट नगरपालिका र ताराखोला गाऊँपालीका अन्तर्गतका माध्यमिक तहका १९ विद्यालय भित्रबाट ११ वटा विद्यालयमा अक्षयकोष स्थापना गत वर्षको कार्यक्रमबाट संकलित र बचत भएको रकमलाई समाजले अत्यन्त उद्देश्यपूर्ण रूपमा उपयोग गरेको छ। अध्यक्ष बस्नेतका अनुसार, सो रकमबाट गलकोट नगरपालिका र ताराखोला गाऊँपालीका भित्रका ११ वटा सामुदायिक माध्यमिक विद्यालयमा जनही ५ लाखका दरले “गलकोट शिक्षा कोष” नामक अक्षयकोष स्थापना गरिसकिएको छ।
यो कोषले विद्यालयको शैक्षिक सुधार, विद्यार्थी अभिवृद्धि र दीर्घकालीन शैक्षिक लगानीमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। बस्नेतका अनुसार, अब दोस्रो चरणमा बाँकी ८ माध्यमिक विद्यालयहरूमा अक्षयकोष स्थापना गरिनेछ, जसका लागि आवश्यक रकम यस वर्षको सांगीतिक कार्यक्रम मार्फत जुटाइनेछ। उनले भने—“यो केवल कार्यक्रम होइन, शिक्षा र भविष्यमा गरिएको लगानी हो। हाम्रो उद्देश्य दीर्घकालीन परिवर्तन हो।” आगामी सांगीतिक श्रृंखला २०२६ लाई अझ भव्य र आकर्षक बनाउन समाजले नेपालका ख्यातिप्राप्त कलाकारहरू तथा जापानमा रहेका स्थानीय प्रतिभाहरू सहितको सशक्त प्रस्तुति तय गरेको महासचिव दिलीप कडेलले जानकारी दिए उनका अनुसार, कार्यक्रममा सहभागी कलाकारहरूको भिसा प्रक्रिया अन्तिम चरणमा पुगेको छ र सबै औपचारिकता पूरा भएपछि केही दिनभित्रै कार्यक्रमको आधिकारिक पोस्टर सार्वजनिक गरिनेछ।
यस वर्षको प्रस्तुति सांस्कृतिक रूपमा अझ समृद्ध, थप आकर्षक र मनोरञ्जनको हिसाबले अघिल्ला वर्षहरूभन्दा धेरै प्रभावशाली हुने अपेक्षा गरिएको बताए। आर्थिक संयोजक तथा कोषाध्यक्ष महेन्द्र साहानीका अनुसार यस वर्षको कार्यक्रमलाई अझ प्रभावकारी बनाउन विशेष आर्थिक सहयोग योजना ल्याइने बताएका छन्। उनका अनुसार, समुदायका नेपाली, संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई पारदर्शी र व्यवस्थित प्रणालीमार्फत आर्थिक रूपमा सहभागी गराउने तयारी भइरहेको छ।
साहानीले भने यो कार्यक्रम केवल रकम संकलन होइन, दीर्घकालीन सामाजिक लगानी हो। हामीले ल्याउन लागेको विशेष आर्थिक सहयोग योजनाले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा अझ ठूलो प्रभाव पार्नेछ।उनका अनुसार, यस योजनाले दातृहरूको योगदान सुरक्षित, उपयोग पारदर्शी र दिगो रूपमा शिक्षा–स्वास्थ्य क्षेत्रमा फर्किने सुनिश्चित गर्नेछ। कार्यक्रमका मुख्य संयोजक दिल बहादुर थापा (रामु)का अनुसार सांगीतिक श्रृंखला २०२६ लाई सफल, गरिमामय र समुदाय–केन्द्रित बनाउने लक्ष्यसहित व्यापक तयारी तीव्र रूपमा अघि बढिरहेको बताए।उनका अनुसार, यो श्रृंखला केवल सांस्कृतिक कार्यक्रम मात्र नभई विदेशमा रहेका नेपालीहरूको एकताबद्ध भावनाको प्रतीक रहेको बताउदै यो कार्यक्रम हाम्रो पहिचान, एकता र उद्देश्यप्रति समर्पणको प्रतिफल हो।
हरेक वर्षको मेहनत र अनुभवको आधारमा यसपटक हामी अझ परिष्कृत, व्यवस्थित र प्रभावशाली कार्यक्रम प्रस्तुत गर्न प्रतिबद्ध छौँ। कलाकार, प्राविधिक टोली, स्वयंसेवक र समुदाय सबैको सक्रिय सहयोगले यसलाई ऐतिहासिक बनाउने विश्वास लिेएको संयोजक थापाले बताए।
कार्यक्रमको तयारीलाई प्रभावकारी बनाउन विस्तृत कार्यविभाजन गरिएको प्रवक्ता सन्तोष पुने जानकारी दिए जसमा मुख्य संयोजकमा दिलबहादुर थापा (रामु), उप–संयोजक डिला गैरे, सांस्कृतिक संयोजक लोकेश खत्री, आर्थिक संयोजक महेन्द्र साहानी, प्रचार–प्रसार संयोजक दिलीप कंडेल, साथै क्षेत्रीय संयोजकका रूपमा टोकियोमा लक्ष्मण कार्की, नागोयामा राम थापा (काजी) र ओसाकामा नारायण थापा रहेको बताउदै प्रवक्ता पुन थप गर्छन् कार्यक्रमका सबै प्राविधिक, व्यवस्थापकीय तथा सांगीतिक तयारीहरू योजनाबद्ध रूपमा अघि बढिरहेका छन् र समुदायको साथ निरन्तर पाइरहेसम्म यो अभियान दीर्घकालीन रूपमा अझ सक्षम र प्रभावकारी बन्छ।जापानभरका नेपाली, संघ–संस्था तथा नेपाली समुदायलाई ओसाका, नागोया र टोकियो जता सुविधाजनक हुन्छ—उपस्थित भइ आर्थिक, नैतिक तथा भौतिक साथ दिन हार्दिक आह्वान गरेका छन्।





