जापानमा रहेका नेपाली आदिवासी जनजातिहरूको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघ(नेफिन )जापानको १९ औँ महाधिवेशन आज टोकियोमा सफलतापूर्वक सम्पन्न भएको छ।
आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ओता कु स्थित इकेगामी हल (Ikegami Hall, Ota – Ku) मा सञ्चालित महाधिवेशनले आगामी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन लगायतका महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल गरी आवश्यक निर्णयहरू गरेको छ।
महाधिवेशनबाट श्रीभक्त गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ। नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा बुद्धी गौचन, उपाध्यक्षहरूमा थानु राना मगर, पासाङ रिन्जी शेर्पा, बिनोद कुमार श्याङ्तान तामाङ, रण बहादुर लिम्बु (शिशिर निङ्लेकु), र राजन कुमार श्रेष्ठ रहेका छन्। महासचिवमा बाल बिक्रम तिगेला लिम्बु, सचिवहरूमा टेकन गुरुङ, कमल पुन मगर र प्रमिला गौचन, कोषाध्यक्षमा सरस्वती श्रेष्ठ (सारा) तथा प्रवक्तामा बिष्णु कुमार आङ्देम्बे चुनिएका छन्।
सदस्यहरूमा अरमान गुरुङ र याङ्जी सेर्पा निर्वाचित भएका छन्। नवनिर्वाचित उपाध्यक्ष शिशिर निङ्लेकु लिम्बुले जानकारी गराउनुभएअनुसार, १९औँ अधिवेशनबाट निर्वाचित उम्मेदवारहरूलाई तमु धि र गुरुङ समाज दुबैले आफ्ना साझा उम्मेदवारका रूपमा स्वीकार गर्ने सहमति भएको छ।
आगामी छ महिनाभित्र दुवै संस्थाले नेफिन जापानमा गुरुङ/तमु समुदायबाटै एउटै संस्था भएर संघीय परिषद्को रूपमा आउनुपर्ने र सो बखत नेफिन केन्द्रमा आबद्धको सम्बन्धन पत्र साथमा लिएर आउनुपर्नेछ। यदि यो प्रक्रिया पूरा नभएमा दुवै संस्थालाई संघीय परिषद्मा सामेल नगराउने र वरिष्ठ उपाध्यक्षले नेफिन जापानको नेतृत्व गर्ने सहमति भएको पनि उहाँले बताउनुभयो।
महाधिवेशन प्रक्रियाको अन्तिम चरण सम्म तमु धि र गुरुङ समाज जापानबीच आधिकारिक कुन भन्ने बिषयमा विवाद भइरहेको र गुरुङ समाज जापानले आफूले विधानसम्मत रूपमा उम्मेदवारी दर्ता गराउँदा पनि नेफिन जापानको निर्वाचन समितिले दर्ता गर्न अस्वीकार गरेको भन्दै कडा आपत्ति जनाएको थियो।
समाजले यस कार्यलाई नेफिनको विधान, नियमावली र समग्र आदिवासी जनजाति आन्दोलनकै उपहास भएको टिप्पणी सहित विज्ञप्ति निकालेको थियो। गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, समाजले नेफिन जापानको अध्यक्ष, सचिव र सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिनका लागि सम्पूर्ण प्रावधान पूरा गरी तोकिएको दस्तुरसहित विधिवत् मनोनयन दर्ता गराएको थियो। तर, आश्चर्यजनक रूपमा निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्न असमर्थ भएको लिखित जानकारी दिएको विज्ञप्तिमा उल्लेख थियो।
गुरुङ समाज जापानले आफू तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, नेपालको आधिकारिक जापान शाखा भएको र उक्त मातृसंस्था नेफिन नेपालको विधानमा उल्लिखित सदस्य संस्था रहेको स्पष्ट पारेको थियो।
समाजले नेफिन नेपालको प्रवास संगठनको नियमावली २०७९ को दफा ४ को उपदफा ‘क’ मा रहेको स्पष्ट व्यवस्थालाई औंल्याउँदै यस संवैधानिक व्यवस्थाअनुसार गुरुङ समाज जापान नेफिन जापानमा आबद्ध हुन र निर्वाचनमा भाग लिन पूर्णतः योग्य रहेको दाबी गरेको थियो। नेफिन जापानले उम्मेदवारी अस्वीकार गर्नु विधान २०६७ र उक्त विधान अन्तर्गत बनेको नियमावलीविपरीत भएको ठहर समाजको थियो।
यस विवाद समाधानका लागि नेफिन केन्द्रले समेत गुरुङ समाज आधिकारिक संस्था भएकाले उनीहरूको उम्मेदवारी फिर्ता गराउन नमिल्ने भन्दै पत्र पठाएको थियो। गुरुङ समाज जापानले यस विषयमा विज्ञप्ति जारी गरी महाधिवेशन रोक्न दबाब दिँदै आएको भए तापनि, अन्त्यमा महाधिवेशनमा तमु धिका उम्मेदवार श्रीभक्त गुरुङलाई सहयोग गरेको हो ।





