राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा उक्त पार्टी र सहकारीमा फसेको बचत फिर्ताका लागि दबाव दिन ‘सहकारी पीडित’हरूको प्रदर्शनको साक्षी बनेको काठमाण्डूमा शुक्रवार एउटा फरक खालको प्रदर्शन हुँदै छ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले आफैँ सरकार र प्रधानमन्त्रीमाथि भइरहेका ‘प्रहार’को प्रतिकारका लागि सडकमा उत्रिँदै छ। ‘जागरणसभा’ नाम दिइएको एमालेको प्रदर्शन ‘समाजमा निराशा पैदा गर्नेहरूले फैलाएका भ्रम चिर्ने’ उद्देश्यले आयोजना गरिएको संयोजन समितिका प्रमुख कैलाश ढुङ्गेलले बताए।

“अहिले एक किसिमका अराजकतावादीहरूले एउटा निराशा पैदा गर्ने, समाजमा विखण्डन ल्याउने, राज्यका कुनै अङ्गको गतिविधिलाई अस्वीकार गर्ने, निर्णयहरू नमान्ने, ‘प्रधानमन्त्रीलाई मार्छौँ’ भन्नेसम्मको अराजकता देखा पर्‍यो। सार्वजनिक अपील गरेर यो झुटो हो र यो सत्य हो भन्न हामी सडकमा आउन लागेका हौँ,” ढुङ्गेल भन्छन्।
संसद्का दुई ठूला दलहरू मिलेर चार महिनाअघि केपी ओलीको नेतृत्वमा करिब दुईतिहाइ बहुमतसहितको सरकार गठन गर्ने क्रममा आम जनतामा व्याप्त निराशा पनि चिर्ने दाबी गरिएको थियो।

तर सरकारका कतिपय कामकारबाहीबारे पछिल्लो समय सामाजिक सञ्जालमा आलोचना बढेको एमालेका बागमती प्रदेश कमिटी प्रमुख रहेका ढुङ्गेल स्वयं स्विकार्छन्।

“सरकारका काम अहिलेको बनोटले अहिलेको अवस्थाले भनेजस्ता भएका छैनन् हामी पनि भन्छौँ। तर सरकारका काम राम्रा भएका छैनन् भनेर देशको प्रधानमन्त्रीलाई मार्ने कुरा गर्ने र विदेशमा पैसा राखेका छन् भनेर अपराधीकरण गर्नुलाई के भन्ने?”

त्यसो भए सरकारलाई दबाव दिने कि सडकमा प्रश्न उठाउनेहरूको प्रतिकारमा उत्रने त भन्ने बीबीसीको प्रश्नमा ढुङ्गेलले भने, “पार्टीप्रति लक्षित गरेपछि लोकतन्त्रमा पार्टीले पनि सडकमा आफ्ना कुरा राख्न पायो नि त।”
सरकारको आलोचना गर्ने पक्षमाथि सत्ताधारी दल नै सडकमा उत्रिएर विरोध जनाउने अभ्यास नौलो नभएको राजनीतिक विश्लेषक झलक सुवेदीको तर्क छ।

“आम रूपमा सरकारमा हुने पार्टीले सरकारका कामकारबाहीबारे सर्वसाधारणमा उठिरहेका प्रश्नको जवाफ दिन र हामी कमजोर छैनौँ भनेर देखाउन पनि यस्ता प्रदर्शन सभा गर्ने परम्परा हुन्छ,” सुवेदी भन्छन्।

“एमालेको उदय नै जनसङ्घर्षहरूको माध्यमबाट भएको हो। विभिन्न समयमा पार्टीले जनपरिचालनका कार्यक्रम गर्ने अर्काको सरकार हुँदा पनि गर्ने र आफ्नो सरकार हुँदा पनि गर्ने यसको परम्परा छ।”
@bbc

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय