नेपाली राजदूतावास जापानले टोकियोमा २५६९ औं बुद्ध जयन्तीको पावन अवसरमा एक विशेष समारोह भव्य रूपमा सम्पन्न गरेको छ।

हिजो मे ११, २०२५ मा मेगुरो कुमिन सेन्टरमा आयोजित कार्यक्रममा जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले उपस्थित अतिथि महानुभावहरूलाई हार्दिक बधाई ज्ञापन गर्नुभयो। राजदूत सुवेदीले करुणा, अहिंसा र शान्तिका प्रतीक भगवान बुद्धको जन्मजयन्तीको यस पवित्र अवसरमा सबैलाई स्वागत गर्दै खुशी व्यक्त गर्नुभयो।

समारोहमा निप्पोन वेलनेस स्टोन युनिभर्सिटीका अध्यक्ष मिचियो सिबासाका प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। राजदूत सुवेदीले उहाँलाई स्वागत गर्दै जापान र नेपालबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उहाँको भूमिकाको प्रशंसा गर्नुभयो। कार्यक्रममा डा. युकी इतोले नेपालको बहुधार्मिक संस्कृति र बौद्ध धर्मको महत्त्वबारे विशेष प्रवचन दिनुभयो। उहाँले नेपालको सांस्कृतिक सम्बन्ध र बुद्ध धर्मको विचार वर्तमान परिप्रेक्ष्यमा महत्त्वपूर्ण रहेको विश्लेषण गर्नुभयो। भिक्षुज्यूद्वारा बुद्ध मन्त्रोच्चारण र पूजापाठ तथा स्युचीन विश्वविद्यालयका प्राध्यापक डा. सुदन शाक्यद्वारा लुम्बिनी र बौद्ध धर्म सम्बन्धित विशेष प्रवचन प्रस्तुत भएको थियो।

कार्यक्रममा प्रसिद्ध नेपाली भाषाविद श्री तुलसी पराजुलीले कविता वाचन गर्नुभयो भने लुम्बिनी विश्वविद्यालयका प्राध्यापक डा. मुक्ति प्रसाद काफ्लेले नेपालको बौद्धमार्गी पर्यटनको महत्त्व र विकास सम्बन्धी विशेष प्रस्तुति दिनुभयो। यसैगरी, भिक्षुहरूद्वारा बौद्ध मन्त्रोच्चारण गरिएको थियो भने गायक श्याम शीतल र प्रसिद्ध जापानी कलाकारहरू Yuko Okamoto, Chizuko Nishioka ले विभिन्न सांस्कृतिक प्रस्तुतिहरूद्वारा माहोललाई रङ्गिन बनाएका थिए। एशियन ब्रिज इन्टरनेसनल स्कुल, हिमालयन इन्टरनेसनल एकेडेमी र एभरेस्ट इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए।

समारोहमा राजदूत डा. दुर्गा बहादुर सुवेदीले प्रमुख अतिथि श्री मिचियो सिबासाका लगायत विभिन्न विशिष्ट अतिथिहरू तथा कलाकारहरूलाई सम्मान तथा उपहार प्रदान गर्नुभयो। कार्यक्रममा निप्पोन वेलनेस स्टोन युनिभर्सिटीका अध्यक्ष  मिचियोले विशेष मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रममा उपस्थित महानुभावहरूलाई  यशोदा थापाले धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा जापानमा रहेका जापानी, नेपाली र अन्य मित्र राष्ट्रका नागरिकहरूका साथै विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको आरम्भ पानसमा दीप प्रज्ज्वलन गरी गरिएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय