जापानको गुन्मा केनमा बसोबास गर्ने विभिन्न सक्रिय नेपाली संघसंस्थाहरूको संयुक्त आयोजनामा ‘प्रथम नेपाल फेस्टिवल गुन्मा २०२५’ हुने भएको छ।

जापानमा रहेका नेपालीहरूबीच आपसी एकता, समर्पण र सांस्कृतिक पहिचानको जगेर्ना गर्ने मुख्य उद्देश्यले यो विशेष महोत्सव आयोजना गर्न लागिएको हो।

नेपाल र नेपालीको समृद्ध भाषा, परम्परा, पहिरन, कला र लोकसंस्कृतिलाई जापानी भूमिमा चिनाउने यो कार्यक्रम दुई दिनसम्म विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक गतिविधिहरूसहित भव्य रूपमा सम्पन्न गरिने आयोजकहरूले बताएका छन्।

यस फेस्टिवलमा जापानभरि रहेका नेपाली कलाकारहरूद्वारा आकर्षक सांस्कृतिक नाचगान, जातीय झाँकी, साकेला जस्ता परम्परागत नृत्यहरू, नेपाली मौलिक पोशाकहरूको प्रदर्शन गरिनेछ। यसका साथै, नेपालका स्वादिष्ट परिकारहरूका स्टलहरू, हस्तकलाका सामग्रीहरूको प्रदर्शनी तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने विभिन्न सामग्रीहरू पनि प्रस्तुत गरिने तयारी छ। यो फेस्टिवलले जापानमा नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

विशेषगरी, यो कार्यक्रम गुन्मा क्षेत्रका १० वटा सक्रिय नेपाली संघ–संस्थाहरूको ऐक्यबद्धता, पारदर्शिता र समर्पणमा आधारित छ। यी संस्थाहरूले आपसी सम्मान र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्, जसले गर्दा यस फेस्टिवललाई अझ विशेष बनाउनेछ।

फेस्टिवलका मुख्य आयोजक संस्थाहरूमा गैर आवासीय नेपाली संघ (NRNA) जापान गुन्मा, तमूधी किता कान्तो, मगर संघ गुन्मा क्षेत्रीय समिति, स्याङ्जा समाज किताकान्तो, तामाङ समाज किता कान्तो, किरात राई यायोक्खा कान्तो, सिन्धुली समाज जापान, शेर्पा संघ किता कान्तो, रामेछाप समाज किता कान्तो जापान र शेर्पा संघ जापान रहेका छन्।

यी सबै संघ–संस्थाहरूले आ-आफ्नो क्षेत्र, भाषा, संस्कृति र समुदायलाई प्रतिनिधित्व गर्दै यस बृहत् कार्यक्रमको सफलताका लागि आपसी समन्वय, समझदारी र साझा स्वामित्वको भावना प्रदर्शन गरिरहेका छन्।

यस कार्यक्रममार्फत नेपालप्रति माया, सम्मान र गौरव प्रकट गर्नुका साथै जापानमा बसोबास गर्ने नेपाली समुदायबीचको आत्मीयता, सहकार्य र पहिचानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। आयोजक संघ–संस्थाहरूको तर्फबाट सम्पूर्ण जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस ऐतिहासिक र गौरवशाली “प्रथम नेपाल फेस्टिवल गुन्मा २०२५” मा आत्मीय उपस्थितिका साथ सहभागी भई नेपाली कला, संस्कृति, पहिचान र सहकार्यको यस उत्सवलाई थप सशक्त र सफल बनाउन हार्दिक आमन्त्रण गरिएको छ।

यो महोत्सव केवल मनोरञ्जनको माध्यम मात्र नभई जापानमा बस्ने सम्पूर्ण नेपालीहरूको आत्मगौरव, राष्ट्रिय पहिचान र सहकार्यको प्रतीक बन्ने विश्वास गरिएको छ।
आउनुहोस्, नेपालप्रतिको माया, साझा पहिचान र सहकार्यको भावना बोकेर, यो फेस्टिवललाई हामी सबै मिलेर ऐतिहासिक बनाऔं।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय