नेपाल जापान फुटबल संघ (NJFA) जापानले जापानमा रहेका नेपाली बालबालिकाहरूका लागि पहिलो फुटबल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
आज, अगस्ट २ तारिखका दिन वाराबीको निशिकिचो स्पोर्ट्स हिरोबामा आयोजित यस कार्यक्रममा ४३ जना बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
बिहान ९ बजेदेखि ११ बजेसम्म चलेको यो प्रशिक्षण सत्र पूर्व राष्ट्रिय खेलाडी तथा NJFA का पूर्व अध्यक्ष बसन्त गौचनको मुख्य प्रशिक्षणमा सञ्चालन भएको थियो। यसका साथै, NJFA का वर्तमान अध्यक्ष रोशन बजिमायो र उपाध्यक्ष सुजित थापा मगरले पनि प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो।
यस सफल कार्यक्रम आयोजना गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएका पूर्व अध्यक्ष एवं नेपाली अन्तर्राष्ट्रिय खेलाडी बसन्त गौचनलाई NJFA परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। वहाँको अनुभव, प्रेरणा र सहयोगले यस प्रकारका कार्यक्रमहरू सञ्चालन गर्न संघलाई थप हौसला र आत्मविश्वास मिलेको संघले जनाएको छ।
जापानमा रहेका नेपाली बालबालिकाहरूलाई खेलकुदको माध्यमबाट एकताबद्ध बनाउने र उनीहरूको प्रतिभालाई निखार्ने यो एक सकारात्मक कदम भएको विश्वास गरिएको छ।
यसैगरी, NJFA ले आगामी दिनहरूको लागि पनि प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। आगामी अगस्ट ९, १६, २३, र सेप्टेम्बर ६ तारिखमा बिहान ९ बजेदेखि ११ बजेसम्म वाराबीको निशिकिचो स्पोर्ट्स हिरोबामा थप प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ।
यसका अतिरिक्त, इचिकावाको एडोगावा रिभरबेड ग्रीन स्पेसमा प्रत्येक आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म नियमित प्रशिक्षण कार्यक्रमहरू सञ्चालन हुनेछन्।
NJFA जापानले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आफ्ना बालबालिकाहरूको खेलकुद क्षमताको विकास र उज्ज्वल भविष्य निर्माणमा हातेमालो गर्नका लागि आह्वान गरेको छ। संघले बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुदको महत्त्वमा जोड दिएको छ।
थप जानकारीका लागि संघका प्रतिनिधिहरू विशाल कार्की र कमल बलाललाई सम्पर्क गर्न सकिने पनि जनाइएको छ।





