टोकियो, जापान। एनआरएनए जापान नेपालमा घटेको अकल्पनीय र दर्दनाक घटनाप्रति गहिरो शोक, पीडा र आक्रोश व्यक्त गर्दै नेपाल राजदूतावास टोकियोमा महामहिम राजदूतलाई एक ज्ञापनपत्र बुझाएको छ। एनआरएनए जापान परिवारद्वारा लिखित उक्त ज्ञापनपत्रमा पीडितहरूलाई न्याय र क्षतिपूर्तिको माग गर्दै भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिने सुनिश्चितताको लागि आग्रह गरिएको छ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार, जापानमा रहेका नेपालीहरूले मातृभूमिमा भएको अमानवीय घटनाले पीडित परिवार मात्र नभई सम्पूर्ण नेपालीको मन–मस्तिष्कलाई आहत र असुरक्षित बनाएको बताएका छन्। देश छोडेर टाढा रहे पनि नेपालको पीडालाई आफ्नै घाउझैँ महसुस गरेको उनीहरूले बताएका छन्। निर्दोष नागरिकले ज्यान गुमाउनुपरेको यस घटनाले नेपालमा न्याय, लोकतन्त्र र मानव अधिकारको आधारभूत मूल्यमै प्रश्न चिन्ह खडा गरेको उनीहरूको ठहर छ।
ज्ञापनपत्रमार्फत एनआरएनए जापान परिवारले नेपाल सरकारसमक्ष विभिन्न मागहरू राखेको छ। उनीहरूले घटनामा ज्यान गुमाएका निर्दोष व्यक्तिहरूलाई शहीद घोषणा गर्न र राज्यले उच्च सम्मान प्रदान गर्नुपर्ने माग गरेका छन्। त्यसैगरी, मृतकका परिवारलाई दीर्घकालीन आधारमा जीवनयापन र शिक्षाको व्यवस्थासहित उचित क्षतिपूर्ति प्रदान गर्न, घाइतेहरूको उपचार निःशुल्क र गुणस्तरीय बनाउन, साथै घटनामा संलग्न दोषीलाई पहिचान गरी कडाभन्दा कडा सजाय दिनुपर्नेमा जोड दिएका छन्।
यसका साथै, पीडित परिवारलाई न्याय दिलाउन निष्पक्ष न्यायिक प्रक्रिया अघि बढाउनुपर्ने, भविष्यमा यस्ता घटनाहरू नदोहोरिन संरचनात्मक सुधार र सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्ने माग पनि गरिएको छ। ज्ञापनपत्रमा जापानसहित विश्वभर रहेका नेपाली समुदायलाई घटनाबारे नियमित र पारदर्शी जानकारी दिन नेपाल सरकारसमक्ष अनुरोध गरिएको छ।
एनआरएन अध्यक्ष सुभास लामिछाने र महासचिव श्याम शितलले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापनपत्रमा एनआरएनएले आफूहरू केवल श्रद्धाञ्जली अर्पण गर्न मात्र नभई न्यायको दृढ माग गर्न आएको कुरा स्पष्ट पारेका छन्। उनीहरूले निर्दोष नागरिकको रगतले भिजेको मातृभूमि अब थप पीडामा नपरोस् भन्ने प्रबल इच्छा व्यक्त गर्दै आफूहरूको सामूहिक आवाजले पीडित परिवारलाई न्याय दिलाउने बाटो खुल्ला गर्ने विश्वास व्यक्त गरेका छन्। यो ज्ञापनपत्र नेपाल र नेपालीको इज्जत, न्याय र अधिकार कायम गर्नको लागि सामूहिक प्रतिबद्धता भएको उनीहरूले बताएका छन्।





