
नयाँ सोच, विचार र परिकल्पनाका साथ निष्पक्ष तथा पारदर्शी समाज निर्माण गर्ने, अग्रजलाई सम्मान गर्दै नयाँ युवा सहभागितालाई प्रोत्साहन गर्ने भन्दै दीपक सुवेदी ‘विप्लव’ ले सन् २०२५-२०२७ कार्यकालका लागि एनआरएन जापान कान्तोको संयोजक पदमा उम्मेदवारी दिएका छन्।
‘हामी युवा मात्र होइनौँ, हामी परिवर्तनको सोच हौँ, सम्भावनाको दृष्टि हौँ, समाधानको शक्ति हौँ’ भन्ने विप्लव बाग्लुङ गलकोटमा जन्मेका हुन्। सन् २०१५ मा सूर्य उदाएको देश भनेर चिनिने अवसरको भूमि जापानलाई उनले कर्मथलो बनाएका थिए।
उनले सन् २०१५ देखि नै निलुवा समाज जापानको संस्थापक सदस्य हुँदै गलकोट स्पोर्ट्स क्लब टोकियोको सदस्य, सचिव, हाल उपाध्यक्ष र गलकोट समाज जापान कान्तोमा सदस्य, सचिव हुँदै हाल केन्द्रीय सदस्य भई लामो अनुभव बटुलेका छन्। एनआरएन जापानमा पनि सन् २०१५ देखि साधारण सदस्य हुँदै सन् २०१९-२०२१ मा कार्यसमिति सदस्य र सन् २०२१-२०२३ मा सचिव पदमा निर्विरोध भएका थिए। उनले त्याग, सहमति र सहकार्य गर्नुपर्छ भन्दै सागर कार्कीलाई छोडेर सह-सचिव बनेका थिए। विभिन्न संस्थामा काम गरेको अनुभव बटुलेर सन् २०२३-२०२५ मा उप-संयोजक हुँदै विभिन्न कार्यक्रमहरूको संयोजकको भूमिका सक्रिय रूपमा निर्वाह गर्दै आएका छन्।
जापानमा क्रियाशील विभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्दै नेपालीहरूलाई दुःखमा साथ र सहयोग गरी लामो समयदेखि संघसंस्थामा काम गरेको अनुभव बटुलेका अनुभवी दीपक सुवेदी ‘विप्लव’ सन् २०२५-२०२७ कार्यकालका लागि एनआरएनए जापानको सबैभन्दा धेरै जनसंख्या भएको क्षेत्र कान्तोको संयोजक पदमा बलियो उमेदवारका रूपमा प्रस्तुत भएका छन्। बाग्लुङ समाज जापान र खानागावा नेपाली कम्युनिटीका समेत सदस्य रहेका उनी सबै संघसंस्थाका सर्वप्रिय उमेदवार हुन्।
नेपालदेखि नै सामाजिक काममा सक्रिय रहेका विप्लव जापानमा पनि सामाजिक काममा सक्रिय रूपमा लागेर युवा पुस्तामा छुट्टै परिचय बनाएर सफल भएका छन्। अध्ययनमा रुचि राख्ने उनले भने, ‘मेरो उम्मेदवारी प्रतिस्पर्धाका लागि होइन, सहकार्यका लागि हो। अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन गर्दै सबल, सरल र परिष्कृत भई सबैलाई अपनत्व र अभिभावकत्वसहितको समाजको निर्माणका लागि मेरो संयोजकमा उम्मेदवारी रहेको हो।’
‘सकिन्छ सक्दो सहयोग गरौँ, सकिँदैन कसैलाई असर नपारौँ’ भन्दै सकारात्मक सोचका विप्लवले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान र जापानका सबै क्षेत्रहरूसँग समधुर सम्बन्ध राखेका छन्। उनले गौरवमय, बहुसांस्कृतिक “नेपाल हाउस” को निर्माणमा सबैले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरी एक ईटा थप्ने गरी सम्पूर्ण जापानवासी नेपाली जनको अपनत्व हुने गरी सहभागिता गराई नेपाल हाउस निर्माण गर्नुपर्दछ भन्दै जोड दिएका छन्।
क्षेत्र र केन्द्र जोड्दै समन्वय गर्दा जापानमा भइपरी आउने समस्यालाई समाधान र समन्वय गर्न अग्रपंक्तिमा रहेर सबैका साथ सहकार्य गरी अगाडि बढ्ने बताउँदै उनले जापानवासी नेपाली जनहरूमा सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।