धनकुटाबाट प्रहरीले पहिचानवादी आन्दोलनका ९ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा प्रदेश पहिचान संयुक्त संघर्ष समिति संखुवासभाका संयोजक वीरेन्द्र्र खारा राईसहित कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा किरात राई यायोख्खाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसि तिगेलालगायत उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई, पनित कुलुङ रहेका छन् ।
उनीहरू सबैलाई धनकुटा र भोजपुरको सीमवर्ती लेगुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । महर्जनले भने, ‘शान्ति सुरक्षाको दृष्टिले हामीले नियन्त्रणमा लिएका हौं ।’
नेकपा एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ कोशी प्रदेशमा प्रवेश गरेसँगै पहिचान पक्षधरले यातायात बन्द आह्वान गरेको छ ।
बिहीबार धनकुटाको लेगुवा, पाख्रिबास, हिले, सिधुवा हुँदै तेह्रथुमको वसन्तपुरमा सभा आयोजना हुने तयारी छ । उक्त यात्रालाई प्रभावित पार्न सक्ने भन्दै ती क्षेत्रमा सुरक्षा सतर्कता मजबुत बनाइएको प्रशासन स्रोतको भनाइ छ ।
यस अघि खोटाङको हलेसीबाट पूर्वमन्त्री गोपाल किराँतीसहित १० जना पक्राउ परेका थिए ।
कोशी प्रदेशको नामकरणमा असन्तुष्ट नेता किराँतीसहित अभियन्ता पक्राउ परेका प्रहरीले जनाएको छ । आज मङ्गलवार नेकपा (एमाले) को सङ्कल्प यात्रामा अवरोध गर्ने तयारीमा रहेका उनीहरू पक्राउ परेका हुन् ।





