टोकियो, जापान: प्रवास नेपाली सम्पर्क विभाग जापानले आज नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ। यो ज्ञापनपत्र नेपाली राजदूतावास टोकियोमार्फत नेपाल सरकारलाई बुझाइएको हो। ज्ञापनपत्रमा नेपालमा भइरहेको सहकारी ठगीका घटनाहरूमा दोषीहरूलाई कानुनी कारबाही गर्नुपर्ने र पीडितहरूलाई न्याय दिनुपर्ने माग गरिएको छ। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरिएको छ।
विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सहकारी ठगी प्रकरणमा संलग्न वास्तविक व्यक्तिहरूलाई खोजी गरी कानुनी कारबाही गरी पीडित जनताको रकम फिर्ता गराउनु पर्ने नेपाल सरकारको दायित्वप्रति सरकार बेखबर रहेको देखिन्छ। सहकारीबाट रकम अपचलनमा कुनै संलग्नता नभएको स्पष्ट प्रमाणित भइसकेको अवस्थामा पनि, जनताले ठूलो आशा राखेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा धरपकड गरिएको घटनाप्रति हामी प्रवास नेपाली सम्पर्क विभाग, जापान घोर निन्दा र आपत्ती प्रकट गर्दछौँ।”
विभागले नेपाल सरकारलाई तुरुन्त ध्यानाकर्षण गराउन, टोक्योस्थित नेपाली राजदूतावासमार्फत महामहिम राजदूत श्री दुर्गा बहादुर सुवेदी ज्यूलाई यो ज्ञापनपत्र प्रस्तुत गरेको छ। तपशिलमा उल्लेखित बुँदाहरुलाई नेपाल सरकारले यथाशीघ्र कार्यान्वयन गर्नु पर्ने हाम्रो माग छ। यदि सरकारको तर्फबाट आवश्यक कदम चालिएन भने, जनताको पक्षमा उभिएर हामी सरकारविरोधी सघन आन्दोलनमा उत्रन बाध्य हुनेछौं भन्ने जानकारी गराउन चाहन्छौं।
विभागले सरकारसँग गरेका प्रमुख मागहरू यस प्रकार छन्:
राजनीतिक प्रतिशोध अन्त्य गरियोस्: सहकारी प्रकरणको सत्यतथ्य छानबिन गर्न बनेको संसदीय छानबिन समितिले माननीय रवि लामिछानेको सहकारीबाट रकम अपचलनमा कुनै संलग्नता नभएको स्पष्ट प्रमाणित भइसकेको अवस्थामा पनि, सरकारद्वारा उहाँलाई राजनीतिक प्रतिशोधका आधारमा धरपकड गरिएको घटनाको हामी घोर आपत्ती प्रकट गर्दछौं। उहाँलाई तुरुन्त रिहा गरी न्यायिक प्रणालीमार्फत निष्पक्ष छानबिन गरियोस् भन्ने हाम्रो माग छ।
सहकारी ठगीको न्यायिक कारबाही: सहकारीको ८७ अर्बभन्दा बढी रकम अपचलन गर्ने दोषीहरूबारे विस्तृत छानबिन गरी कानुन अनुसार कारबाही गरियोस्। सहकारी र मिटर ब्याजी पीडितहरूको समस्याको समाधानका लागि जिल्ला प्रशासन कार्यालयहरूमा हेल्प डेस्कको तुरुन्त स्थापना गरियोस्।
सहकारी पीडितहरूको संरक्षण: सरकारको तर्फबाट आवश्यक कदम चालेर सहकारी ठगीमा संलग्न व्यक्तिहरुलाई सत्य तथ्य छानबिन गरी कानुनी कारबाही गरियोस्। गोखी मिडिया नेटवर्कका संचालक र सहकारी ठगी प्रकरणमा दोषी ठहरिएका जितेन्द्रबाबु राई (जीबी राई) लाई छिटोभन्दा छिटो पक्राउ गरी पीडितहरूको सम्पत्ति फिर्ता गरियोस्।
प्रवास नेपाली सम्पर्क विभाग जापानले नेपाल सरकारलाई यी मागहरू पूरा गर्न दबाब दिने बताएको छ। यदि सरकारले यी मागहरूलाई बेवास्ता गर्यो भने, विभागले जापानमा रहेका नेपालीहरूलाई एकजुट गरेर सरकारविरुद्ध सघन आन्दोलन गर्ने चेतावनी दिएको छ।