शेर्पा समुदायको मौलिक कला र संस्कृतिलाई विश्वव्यापी रूपमा चिनाउने उद्देश्यका साथ लामो समयदेखि अमेरेिकामा बसोबास गर्दै आइरहेका केही शेर्पा युवाहरुको प्रयासमा ‘शेर्पा नृत्य प्रतियोगिता २०२५’ आयोजना हुने भएको छ। यो सांस्कृतिक कार्यक्रम आगामी नोभेम्बर ०१, २०२५, शनिबार का दिन लोकप्रिय सामाजिक सञ्जाल टिकटक मार्फत प्रत्यक्ष प्रसारण हुनेछ।

प्रतियोगिता न्युयोर्कको समयअनुसार बिहान १०:३० बजे र नेपालको समयअनुसार राति ८:१५ बजे सुरु हुनेछ। यसमा शेर्पा समुदायका दुई मुख्य परम्परागत नृत्यहरू शेर्पा श्याब्रु नृत्य र शेर्पा नादिङ नृत्य प्रस्तुत गरिनेछ। आयोजक टिमका आङ निमा शेर्पाका अनुसार, यो कार्यक्रमको सफल आयोजनामा श्रीमान् कफी (NYC), श्रीमान् ओम याक इन्टरनेशनल, श्रीमान् डोल्पाली बाजे र श्रीमान् आङ ङिमा शेर्पा लगायतका व्यक्तित्वहरू संलग्न छन्।

वरिष्ठ निर्णायकहरू श्रीमान् देण्डी शेर्पा, सुश्री छिरिङ शेर्पा र श्रीमती माङ्गा लामु/नाङ्गा लामु शेर्पाले सेमिफाइनलसम्मको नतिजाको घोषणा गर्नेछन्। तर, फाइनल (FINALE) को विजेता भने दर्शकहरूले दिएको मत (Points) को आधारमा छनोट गरिनेछ।
आयोजकका अनुसार प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः सात सय अमेरिकी डलर (USD ७००), पाँच सय अमेरिकी डलर (USD ५००), र तीन सय अमेरिकी डलर (USD ३००) तोकिएको छ। अब फाइनलका लागि जम्मा दुई वटा अडिसन मात्र बाँकी रहेको जानकारी आयोजकले दिनुभएको छ।
प्रतियोगिताका महत्त्वपूर्ण नियमहरू
को-को सहभागी हुने? देश-विदेशका सबै उमेरका शेर्पाले भाग लिन पाउँछन्।
कसरी परिचय दिने? आफ्नो परिचय अनिवार्य रूपमा मौलिक भाषामा दिनुपर्छ।
के लगाउने? प्रस्तुति अनिवार्य रूपमा शेर्पा पोसाकमा हुनुपर्छ।
कति जनाको समूह? एक्लै वा बढीमा तीन जनासम्मको समूह बनाउन पाइन्छ।
कसरी अभिनय गर्ने? शेर्पा गीतको तालमा नाच्ने वा आफैँ गाएर अभिनय गर्नुपर्छ।
कसले निर्णय गर्छ? सेमिफाइनलसम्मको निर्णय निर्णायकहरूले गर्नेछन्, तर फाइनलको विजेता दर्शकको मत (Point) ले छनोट हुनेछ।





