सोलुदुधकुण्ड नगरपालिका २ स्थित स्वास्थ्य चौकी बेनीमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
यो शिविर सोलुदुधकुण्ड नगरपालिका र वडा नम्बर २ को संयुक्त आयोजनामा कुसुदेव जनस्वास्थ्य अभियान नेपाल, काठमाडौं र Wilderness in Nepal, Australia को सहयोगमा हुन लागेको हो।
शिविर २०८२ साल असोज १२ गतेदेखि १४ गतेसम्म (सेप्टेम्बर २८ देखि ३०, २०२५) तीन दिनसम्म चल्न लागिरहेको शिविरमा स्वदेशी विशेषज्ञ चिकित्सक र विदेशी स्वयंसेवकहरूको सहभागिता रहने शिविर संयोजक छिरीङ शेर्पाले जानकारी दिनुभयो।
शिविरमा स्थानीय जनतालाई विभिन्न स्वास्थ्य सेवाहरू निःशुल्क उपलब्ध गराइनेछ। यसमा स्त्रीरोग सम्बन्धी स्वास्थ्य जाँच तथा उपचार, हाड जोर्नी तथा नशा सम्बन्धी, पेट रोग तथा ग्यास्ट्रिक सम्बन्धी रोगहरूको परीक्षण र उपचार गरिनेछ।
यसका साथै, पाठेघरको मुखको क्यान्सर VIA परीक्षण र स्तन तथा शरीरमा देखिने गाँठागुँठीको बायोराड परीक्षण जस्ता महत्वपूर्ण सेवाहरू पनि प्रदान गरिनेछ। पाठेघरमा रिङ पेसरी राख्ने, सामान्य स्वास्थ्य परीक्षण, फिजियोथेरापी ,ल्याब सेवा र ई.सि.जी./भिडियो एक्सरे सेवाहरू पनि उपलब्ध हुनेछन्।
स्वास्थ्य शिविरमा बिरामीहरूको जाँच बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म गरिनेछ भने दर्ताको समय बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ। यो शिविर सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. २स्थित स्वास्थ्य चौकी, बेनीमा सञ्चालन हुनेछ। शिविरमा परीक्षण गरिएका बिरामीहरूलाई निःशुल्क औषधि पनि वितरण गरिनेछ। यस शिविरले दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने विश्वास लिइएको छ।
आयोजकहरूले सबै स्थानीय बासिन्दालाई समयमै आफ्नो स्वास्थ्य जाँच गराई यस सुनौलो अवसरको फाइदा लिन अनुरोध गरेका छन्।
स्थानियबासीहरुले यसखाले कार्यक्रमहरूले समुदायमा स्वास्थ्य चेतना बढाउनुका साथै स्वास्थ्य सेवामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





