टोकियो, जापान। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले यस वर्षको ३१औं विश्व आदिवासी दिवस ‘आदिवासी जनताको आत्मनिर्णयको अधिकार: खाद्य सुरक्षा र सार्वभौमिकताको लागि मार्ग’ भन्ने मूल नाराका साथ भव्यताका साथ मनाएको छ।
हिजो अगस्ट ३ तारिख, आइतबारका दिन टोकियोको रोयल गार्डेन रेस्टुरेन्टमा दिउँसो १ बजेदेखि साँझ ५:३० बजेसम्म भएको यो सांस्कृतिक कार्यक्रममा जापानमा रहेका विभिन्न आदिवासी जनजाति समुदायको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य आयोजक नेपाल आदिवासी जनजाति महासंघ जापान थियो। यस कार्यक्रमलाई सफल बनाउन थकाली सेवा समिति जापान, तमु धीं जापान, नेपाल मगर संघ जापान, शेर्पा संघ जापान, नेपाल तामाङ समाज जापान, किरात याक्थुङ चुम्लुङ जापान, किरात राई यायोक्खा, नेवा खल जापान, र थारु कल्याणकारिणी सभा जापान जस्ता विभिन्न संस्थाहरूले सह-आयोजकको भूमिका निर्वाह गरेको थियो।

कार्यक्रमको सभापतित्व नेफिन जापानका अध्यक्ष श्री गुरुङले गर्नुभएको थियो। प्रमुख अतिथि नेफिन जापानका सल्लाहकार तथा एनआरएन आइसिसि उपाध्यक्ष रोबिन शेरचन हुनुहुन्थ्यो भने विशेष अतिथिहरूमा नेफिन जापानका संरक्षक तथा एनआरएन आइसिसिका सल्लाहकार ओम गुरुङ र नेफिन जापानका सल्लाहकार तथा नेपाली व्यवसायी संघ एनबिए जापानका अध्यक्ष विजय थकाली उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको स्वागत मन्तव्य विनोद स्याङतान लामाले दिनुभएको थियो। दीप प्रज्वलन, राष्ट्रिय गान र आदिवासी जनजाति गीत बजाएर कार्यक्रमको उद्घाटन गरिएको थियो। औपचारिक रूपमा दुई सत्रमा सञ्चालित यस कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन नेफिन जापानका महासचिव बलाबिक्रम तिगेलाले गर्नुभयो भने सांगीतिक कार्यक्रमको सञ्चालन नेफिन जापानका सचिवद्वय कमल पुन मगर र टेकन गुरुङले गर्नुभएको थियो।

३१औं विश्व आदिवासी दिवस दिप प्रज्वलन गरेर उत्घाटन हुदै
कार्यक्रममा जापानमा रहेका एकल जातीय संस्थाहरू मगर, शेर्पा, लिम्बू, तामाङ, गुरुङ, थकाली र थारुहरूको मौलिक सांस्कृतिक नाचले थप रौनकता प्रदान गरेको थियो। आयोजक नेफिन जापानले प्रस्तुति दिने कलाकारहरूलाई सम्मानस्वरूप प्रशंसापत्र प्रदान गर्नुभएको थियो। गण्डकी प्रदेश सरकारले मगर र गुरुङ जातिको भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिएको खुसियालीमा दीप प्रज्वलन समेत भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोबिन शेरचनले एनआरएनमा आबद्ध भएर विभिन्न सामाजिक कार्य गरिरहँदा जापानमा रहेका आदिवासी जनजातिहरूको माया, सद्भाव र सहयोग मिलेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। सभापति श्री गुरुङले आदिवासी जनजातिहरू सबै कुरामा एक भए पनि संगठन र राष्ट्र निर्माणमा एक हुन नसकेकोमा दुःख व्यक्त गर्दै एकजुट हुन अनुरोध गर्नुभयो। उहाँले गैर-आदिवासी जनजातिहरूको कार्यक्रममा आदिवासीहरू आफ्नै भेषभूषामा जाने तर विश्व आदिवासी दिवसमा गैर-आदिवासी संस्थाहरूको उपस्थिति न्यून रहेकोमा चिन्ता समेत व्यक्त गर्नुभयो।
विशेष अतिथि ओम गुरुङले आफू जनजाति गुरुङ हुनुमा गर्व महसुस गरेको बताउनुभयो। उहाँले विश्व आदिवासी दिवसको नाराको महत्त्वमाथि प्रकाश पार्दै आदिवासी समुदायका केही व्यक्ति राजनीति र सरकारी क्षेत्रमा सफल भए पनि सबैले त्यो सफलता पाउनका लागि आफ्नो स्वभाव परिवर्तन गरी अध्ययनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले जापानमा आफूले पाएको सफलतामा जातीय संस्था र सम्पूर्ण जनजातिहरूको सहयोग रहेको पनि बताउनुभयो।
नेफिनका भूतपूर्व अध्यक्ष ध्रुव भट्टचनले सुरुवाती दिनहरूमा जापानमा नेफिन टोकियो र नागोया हुँदाको इतिहास र कठिनाइको चर्चा गर्दै एकल जातीय संस्थाहरूलाई पदका लागि घरझगडा नगरी मिलेर अगाडि बढ्न सुझाव दिनुभयो।
नेपाल मगर संघ जापानका अध्यक्ष रामहरि खपाङ्गी मगरले आदिवासी जनजातिहरूको चेतनास्तर बढाउनुपर्ने र अरूले बनाएको भाष्यको पछि लाग्न नहुने बताउनुभयो। उहाँले पहिचान, भूमि, जल, जमिन र जंगलको संरक्षण गर्न र नेपालको राज्यसत्ताले आइएलओ १६९ विपरीत गरेको कुप्रयासविरुद्ध संगठित रूपमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमले जापानवासी आदिवासीहरूको गतिविधि प्रस्तुत गराएर आदिवासी जनजाति पहिचानलाई जीवन्त राख्न सहयोग पुर्याएको छ। साथै, बढ्दो पुस्तालाई पनि आफ्नै भेषभूषा र भाषामा गर्व गर्न प्रेरणा मिलोस् भन्ने यस कार्यक्रमको उद्देश्य रहेको थियो। यद्यपि, केही गैर-आदिवासी जनजाति संघसंस्था र एनआरएनबाट कोही प्रतिनिधि उपस्थित नभएकोमा सहभागीहरूले गुनासो व्यक्त गरेका थिए।





