टोकियो, जापान: सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले नेपाल डिजिटल क्षेत्रमा ठूलो फड्को मार्ने चरणमा रहेको बताउनुभएको छ।

जापानको राजधानी टोकियोमा एसिया प्यासिफिक टेक्नोलोजी सम्बन्धी मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

मन्त्री गुरुङले सन् २०२५ मा हुने एसिया-प्रशान्त दूरसञ्चार (एटीपी) मन्त्रीस्तरीय बैठकको तयारी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदृष्टिमा सूचना प्रविधि उद्योग स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, कुल गार्हस्थ उत्पादन (जीडीपी) बढाउने र नवीन तथा समावेशी अर्थतन्त्र निर्माण गर्ने दिशामा नेपाल दृढ संकल्पका साथ अगाडि बढेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “नेपाल डिजिटल छलाङको चरणमा छ। प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदर्शी नेतृत्वमा हामी आईटी उद्योग स्थापना गर्न, रोजगारी सिर्जना गर्न, जीडीपी बढाउन, नवीन र समावेशी अर्थतन्त्र सिर्जना गर्न दृढ संकल्पका साथ काम गरिरहेका छौं। हामीले नीति, पूर्वाधार र उच्च दक्ष मानव संसाधन विकासमा हाम्रा कार्यहरूलाई प्राथमिकता दिइरहेका छौं।”
मन्त्रालयका सूचना प्रविधि विज्ञ सल्लाहकार डा. शालिग्राम पराजुलीका अनुसार मन्त्री गुरुङले नेपाल सरकारले पछिल्लो समय गरिरहेका सूचना प्रविधि प्रगति र भविष्यका रणनीतिका बारेमा स्पष्ट पार्नुभएको थियो।
मन्त्री गुरुङले प्रविधि हस्तान्तरण, क्षमता निर्माण र नीतिगत संलग्नतामा एटीपीले पुर्याएको सहयोगलाई नेपालले उच्च महत्व दिएको बताउनुभयो। उहाँले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क लाई उच्च प्राथमिकताका साथ ‘गेम चेन्जर’ परियोजनाका रूपमा अगाडि बढाएको पनि उल्लेख गर्नुभयो।

विश्वव्यापी रूपमा प्रविधिको उच्च विकाससँगै डिजिटल क्षेत्रको विकास र विस्तार नेपालका लागि सबैभन्दा महत्त्वपूर्ण रहेको बताउँदै उहाँले मानव विकासको पुलका रूपमा नेपालले डिजिटल क्षेत्रलाई अँगालेको जानकारी दिनुभयो।
नेपाली जनतालाई सशक्त बनाउने, साइबर सुरक्षा स्थिति निर्माण गर्ने, लचिलो डिजिटल पूर्वाधारमा लगानी गर्ने, सरकार, व्यवसाय र समाजमा क्षमता निर्माण गर्ने, उनीहरूको डेटा सुरक्षित गर्ने र नवप्रवर्तनलाई तीव्रता दिने नेपालको मुख्य चासोको विषय रहेको उहाँले बताउनुभयो।
मन्त्री गुरुङले थप्नुभयो, “नेपाल सरकारको तर्फबाट, म एटीपीको दृष्टिकोणलाई अगाडि बढाउन नेपालको प्रतिबद्धता दोहोर्याउँछु। हामी एआई, फाइभजी लगायतका अन्य डिजिटल समावेशीकरणका लागि अत्याधुनिक प्रविधिहरू अँगाल्नेछौं, क्षेत्रीय साइबर सुरक्षा सहयोगलाई सुदृढ पार्नेछौं र हाम्रो मानव संसाधनलाई उत्थान गर्ने र डिजिटल विभाजनलाई कम गर्ने वार्षिक क्षमता विकास कार्यक्रमहरूलाई गहन बनाउनेछौं।”
उहाँले विश्वव्यापी प्राविधिक कम्पनीहरू र डिजिटल इकोसिस्टमका प्रवर्तकहरूलाई सस्तो र स्वच्छ ऊर्जा प्रयोग गरेर नेपालमा डेटा सेन्टर, कम्प्युटिङ र एआई केन्द्रहरू स्थापना गर्न आमन्त्रित गर्नुभयो। साथै, जेनरेशन जी को उत्थान, कनेक्टिभिटी बढाउन डिजिटल गभर्नेन्स र क्लाउड पूर्वाधारमा सहकार्य गरी डिजिटल क्रान्तिमा कुनै पनि राष्ट्र वा समुदाय पछाडि नछुट्ने सुनिश्चित गर्न नेपाल प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय