
नेपाल आदिवासी जनजाति महासंघ, जापान (नेफिन जापान) ले ताप्लेजुङमा भएको प्रहरी दमनको कडा विरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।
विज्ञप्तिमा प्राचीन स्थानीय पहिचान र किरात सांस्कृतिक आस्थाको केन्द्र “मुकुम्लुङ” को संरक्षणमा खटिएका निहत्था स्थानीय जनतालाई तर्साउने र ज्यान लिने उद्देश्यले प्रहरीले गोली चलाएको उल्लेख छ। २०८१ माघ १२ गते भएको यस घटनामा प्रहरीलाई आदेश दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नेत्र प्रसाद अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई कडा कारबाहीको माग गरिएको छ।
नेफिन जापानले यस घटनालाई सरकारको ठाडो आदेशमा भएको आपराधिक कार्य भनेको छ। विज्ञप्तिमा केही समयअघि खड्ग प्रसाद ओली नेतृत्वको सरकारको पालामा “खुवालुङ” जस्ता किरात धार्मिक र सांस्कृतिक आस्थाका केन्द्रहरू भत्काउने प्रयास भएको स्मरण गराइएको छ। स्थानीयको कडा प्रतिरोधका कारण ती प्रयासहरू विफल भएपछि, राज्यले पुरातात्विक महत्वका सम्पदालाई संरक्षण गर्नुको सट्टा राज्यशक्तिको दुरुपयोग गर्दै गोली चलाएर निर्दोष स्थानीय बासिन्दामा त्रास र भय पैदा गराएको आरोप लगाइएको छ। यस घटनालाई आदिवासी किरातहरूको पहिचान मेट्ने प्रयासको निरन्तरताको रूपमा व्याख्या गरिएको छ।
नेफिन जापानले सरकारबाट पूर्वाग्रहपूर्वक हुने यस्ता जनतामाथिको बर्बर प्रहरी दमन कुनै पनि कोणबाट स्वीकार्य नहुने चेतावनी दिएको छ। स्थानीयको रोजिरोटीको बेवास्ता गर्दै एक दलाल व्यापारीको हितका लागि स्थानीयलाई गोली हान्नु भ्रष्ट सरकारको बदनियत भएको आरोप लगाइएको छ।
गोली ताकेर १-२ जना जनता तर्सिएलान्, तर जनतालाई अनावश्यक त्रास देखाएर पहिचान विरोधी कार्य सफल हुन नसक्ने कुरामा नेफिन जापानले जोड दिएको छ। प्रजिअ अधिकारीले सांस्कृतिक स्थलको संरक्षणमा रहेका स्थानीयमाथि अनाहकमा गोली हान्न लगाएको कार्यलाई लोकतन्त्रमाथिको खुला बलात्कार र आदिवासीहरूको अन्तर्राष्ट्रिय अभिसन्धिले दिएको अधिकार खोस्ने कामको संज्ञा दिइएको छ।
नेफिन जापानका प्रवक्ता विशाल राईद्वारा जारी विज्ञप्तिमा घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न, गोली लागेर गम्भीर घाइते भएका यामबहादुर लिम्बु, धर्मेन्द्र पालुङ्वा, सगुन लावती र अन्य घाइतेहरूको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न र घाइतेहरूको परिवारलाई आवश्यक राहतको व्यवस्था गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ। नेफिन जापानले आगामी दिनहरूमा यस्ता निन्दनीय कार्य नदोहोर्याउन पनि सरकारलाई सचेत गराएको छ।