एउटा कलिलो बालकले पेटभरि खान पाएन भने उसको मानसपटलले के सोच्दो हो ? भोको पेट हुँदा हुँदै स्कुल जानुपर्छ, पढ्नुपर्छ, अनि धेरै पढेर ठूलो मान्छे बन्नुपर्छ भन्ने सोच दिमागमा आउँदो हो ?
सायद, यसको सही जवाफ टासीछोम्बे नेपालीसँग छ । टासीले भोको पेटमा पढ्नुपर्छ, अनि ठूलो मान्छे बन्नुपर्छ भन्ने कल्पनामा पनि चिताएनन् । उनको दिमागमा कसरी पेटभरि खान पाइन्छ भन्ने मात्रै घुमिरहन्थ्यो ।
र, त्यही भोको पेट लिएर सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका खुकुनडोलका ८ वर्षीय टासी काठमाडौं हुइँकिए । उनको खासै ठूला सपना पनि थिएन, पेट भर्नेबाहेक ।टासीको घरको आर्थिक अवस्था राम्रो थिएन । बाबुआमाले पढाउन सक्ने स्थितिको कुरै भएन । त्यही बेला उनको बुबाको निधन भयो । घरको संरक्षकको निधन भएसँगै टासी बेसहरा बन्न पुगे ।
त्यसपछि कहिले काका पर्नेहरूको शरणमा बस्नुपर्ने अवस्था आयो त, कहिले मामाहरूको आश्रयमा । मामाहरूसँगै बसेर उनले ४ कक्षासम्म पढे । तर, काम नगरी खान नपाइने भएपछि उनको पढाइ साँवा अक्षर चिन्नेभन्दा माथि जान सकेन ।त्यसपछि जीवनमा अनेक हण्डर–ठक्कर खाए । काठमाडौं, पोखरा मात्रै होइन, भारतको काशीमा समेत गएर अनेक किसिमका श्रम गरे । तर, दशकौंको मिहिनेत र लगनपछि अहिले टासी एक सफल उद्यमीका रूपमा चिनिएका छन् ।
आखिर, टासीले जीवनमा के, कति र कस्तो मिहिनेत, लगन र श्रम गरे ? जीवनको उत्तराद्र्धमा आएर एक सफल उद्यमीको पहिचान बनाृउँदा उनलाई कस्तो अनुभव हुन्छ ? अनि, एउटा प्रख्यात व्यावसायिक ब्रान्ड बनाउन केसम्म गरेनन् ? उनको जीवनकथाको फेहरिस्त यस्तो छ ।६२ वर्षको उमेरसम्म अटुट रूपमा इमानदारीसाथ गरेको श्रम र करिब २० वर्षअघि थालेको उद्यमशीलताले आज टासीले करोडौंको कारोबार र स्थापित ब्रान्ड बनाउन सफल भएका छन् । त्यो ब्रान्ड हो– ‘सोनाम’ ।
सोनाम आज नेपालीमाझ लोकप्रिय कपडा ब्रान्ड बन्न सफल भएको छ । मुलुकभरि यसका २२ शोरुम छन् । बूढानीलकण्ठमा ८ रोपनी क्षेत्रफलमा फैलिएको ठूलो कारखाना छ । जहाँ स्थायी र दैनिक ज्यालादारी गरेर ३ सय जनाले दिनहुँ काम गर्छन् ।
सोनामले महिनाको २० हजार थान कपडा उत्पादन गर्छ । लगानी मात्रै ३० करोडभन्दा धेरै पुगिसकेको छ । वार्षिक ३९ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्छ ।‘रोम एक रातमा बनेको होइन’ भन्ने उक्तिजस्तै उनलाई यो सफलता पनि यसै हासिल भएको पक्कै होइन ।
कलिलै उेमरमा राजधानी छिरेका टासीको बस्ने स्थायी ठाउँ थिएन । कहिले कहाँ त कहिले कुन आफन्तकहाँ बस्थे र जे भेटियो त्यो काम गर्थे ।आमा र मामाहरूसँग काठमाडौंमा बसिरहेका उनी एकपटक गाउँकै दाइ नाता पर्नेको पछि लागेर पोखरा पुगे । त्यहाँ केही समय काम गरे । तर, पोखरामा धेरै समय टिक्न सकेनन् ।त्यसबेलाको एउटा घटनालाई उनी जीवनमा कहिल्यै भुल्न नसक्ने बताउँछन् ।
टासी जाडो गर्मी नभनी काम गर्थे । तर, जाडोमा लगाउन उनीसँग एउटा ज्याकेटधरी थिएन । उनले अलिअलि पैसा जम्मा पारेर ३ सय रुपैयाँमा फागुन महिनामा पर्ने ग्याल्पो ल्होसारमा आफूलाई एउटा ज्याकेट किने । त्यो ज्याकेट लगाएपछि उनलाई अनुभव भयो– न्यानो भनेको कस्तो हुँदो रहेछ ।
सन् २०२० मा भएको सगरमाथा सरसफाइ अभियान सोनाम गियर पनि सहभागी थियो ।‘त्यसबेला मलाई लाग्यो, पहिलेदेखि नै यस्तो ज्याकेट लगाउन पाएको भए कस्तो हुन्थ्यो होला ?,’ टासी भावुक सुनिन्छन्, ‘तर, त्यो वर्ष उनले लामो समय ज्याकेट लगाउन पाएनन् । १५ दिनपछि त चैत लागिहाल्यो, गर्मी सरु भइहाल्यो ।’त्यसपछि उनी कसैको साथ लागेर भारत बनारसतिर लागे । त्यहाँ उनले केही वर्ष छापाखानामा काम गरे । १४–१५ वर्षको केटौलो भएपछि टासी बनारसमा पनि बस्न सकेनन् । अनि, सिधै नेपाल फर्किए ।
बनारसमा जोगाएको केही पैसा बगलीमा थियो । काठडमार्डौं आएपछि त्यो पैसाले काठ कारखाना खोले । काठका बुट्टा खोप्ने काम गर्थे उनी । तर, त्यो कारखाना चलाउन सकेनन् । त्यहाँ गरेको सानो लगानी पनि भसक्कै डुब्यो ।
उनको उमेर २० वर्षजति हुँदो हो । काम नपाएर उनी छट्पटिएका थिए । त्यसैबेला एकजना दिदी नाता पर्नेले गार्मेन्ट कारखानामा काम लगाइदिइन् ।उनको काम हेल्परको थियो । तर, त्यही मौकामा उनले कपडा कारखाना कसरी चलाउन सकिने रहेछ भन्ने कुरा चाहिँ त्यहीँ सिके ।गार्मेन्टमा लामो समय काम गरेर उनले केही पैसा जम्मा गरेका थिए । त्यो रकम उपयोग गरेर उनले गलैंचा कारखाना खोले । केही समय त त्यो कारखानाले राम्रै नाफा दिएको थियो ।
गलैंचा कारखाना तीन वर्ष चलाए । त्यसबेला कमाएको पैसाले टासीले एउटा सानो घर पनि बनाए । तर, कार्पेट उद्योग अचानक धराशयी बन्यो । धेरै कारखाना बन्द भए । उनको पनि कार्पेट कारखाना बन्द भयो । उत्पादन भएको सामान एक डेढ वर्षसम्म स्टकमा थुप्रियो । जुन कवाडीमा बेच्नुपर्यो ।
कार्पेटमा पनि उनी नराम्ररी डुबे ।फेरि, पनि काम त गर्नु नै थियो । तर, कतै जागिर पाएनन् ।अझै पहिले नै व्यापार गरिसकेका कारण आफ्नै केही काम गर्नुपर्छ भन्ने मनमा चाहिँ थियो । तर, पैसा कहाँबाट ल्याउने ? तनाव जारी थियो । दैवले ‘तँ आँट म पुर्याउँछु’ भने झैं लगानी गर्ने पैसा थिएन । त्यही बेला उनकी श्रीमतीका फुपाजु एन्टी शेर्पाले मद्दत गरे ।
शेर्पाको ट्रेकिङ (पदयात्रा) जाँदा लगाउने कपडा उत्पादन गर्ने गार्मेन्ट फ्याक्ट्री थियो । ट्रेकिङका लागि चाहिने लुगा र अन्य सामग्रीको व्यापार पनि । उनैले टासी दम्पतीलाई पनि ट्रेकिङका सामान बेच्ने पसल थाप्न सल्लाह दिए ।
त्यसपछि टासी दम्पतिले सन् २००१ मा पर्यटन गन्तव्य ठमेलमा एउटा पसल खोले १० बाई २५ फिट क्षेत्रफलको । लगानी गर्न टासीसँग जम्मा २५ हजार रुपैयाँ थियो । उनले त्यो पसलमा ट्रेकिङ सम्बन्धी सामान बेच्न थाले । उनी ज्याकेट लगायत लुगा तथा अन्य एसेसरिज बेच्थे । महिनाको भाडा नै १८ हजार तिर्नुपर्थ्यो । पसलको नाम थियो– टीटी ट्रेकिङ ।
फुपाजु एन्टी आफैं पनि कतिपय कपडा उत्पादन गर्ने भएकाले टासीले पनि तिनै सामान ल्याएर बिक्री गरे । बाँकी सामान अन्यत्रबाट पनि ल्याएर बेचे । ‘मेरो पसलमा ट्रेकिङ सम्बन्धी सबै सामान पाइन्थ्यो,’ उनी सम्झिन्छन्, ‘आएका ग्राहक कुनै सामान पाइएन भनेर फर्कनु पर्दैनथ्यो ।’
त्यसबेला माओवादी द्वन्द्व चरमोत्कर्षमा थियो । पर्यटक आगमन ओरालो लागेको थियो । अन्य व्यापारीले कारोबार घटाउँदै थिए । तर, टासीको चाहिँ बढिरहेको थियो ।व्यापार बढाउन उनीसँग थप पैसा थिएन, बैंकबाट ऋण लिन धितो । त्यसो हुँदा उनले साथीभाइसँग सरसापट गरेर व्यवसाय विस्तार गर्न थाले । लिएको पैसा भनेको समयमा नै तिर्ने उनको बानीले साथीभाइको सहयोग पाउन उनलाई सजिलो भयो ।
त्यसो हुँदा पहिलो पसल खोलेको दोस्रो वर्षमै उनले अर्को पसल पनि खोले त्यहीँ ठमेलमै । तेस्रो वर्षमा त तीनवटा पसल पुर्याए ।त्यसबेला नेपालमै ज्याकेट लगायत ट्रेकिङका लागि आवश्यक कपडा उत्पादन हुन्थ्यो । तर, नर्थफेस लगायत विश्वचर्चित ब्रान्डको नक्कल गरेर । उनले पनि त्यस्तै ‘कपिक्याट’ ब्रान्ड बेच्थे ।
तर, ती कपडाको गुणस्तर राम्रो नहुने भएपछि उनी आफैंले तिनको उत्पादन गर्न थाले । आफ्नै कारखाना त थिएन, तर कच्चपदार्थ आफैंले ल्याएर आफूले भनेकै गुणस्तरमा बनाउँथे । तर, बाध्यता ब्रान्ड भने उही नर्थफेस, एडिडास, पुमा, एटलास, माउन्टेन हार्ड गियर लगायत । गुणस्तर पनि तुलनात्मक रूपमा राम्रो नै बनाएपछि मानिसहरू सजिलै झुक्किने । विदेशीहरूले पनि खुसी भएर किन्थे । नाफा पनि राम्रै भइरहेको थियो ।
तर, टासीको मन खासै खुसी थिएन । साथीभाइले ‘उहाँले नर्थफेस बनाउनुहुन्छ’ भन्थे । तर, उनलाई भने ग्लानि हुन्थ्यो । किनभने, उनी त त्यो ब्रान्डको कपी पो बनाइरहेका थिए ।
सन् २०११ आइपुगेपछि उनले अठोट गरे– ‘अरुको कपी गरेर व्यापार दिगो हुँदैन । आफ्नै ब्रान्ड बनाउनुपर्छ ।’
त्यसपछि जन्मियो– सोनाम ब्रान्ड ।सोनाम ब्रान्डमा कपडा उत्पादन त सुरु भयो । तर, नयाँ ब्रान्ड स्थापित गर्न कहाँ सजियो थियो र ? उनी राम्रो गुणस्तरका कपडा सोनाम ब्रान्डमा बनाउँथे, ग्राहक चाहिँ नर्थफेसका नक्कली कपडा नै खोज्थे ।
तर, टासी सहजै हिम्मत हार्ने मान्छे थिएनन् । सोनामलाई स्थापित गराइछाड्ने अठोट लिए । ब्रान्ड बनाउन सुरु गरेको तेस्रो वर्षमा मात्रै बल्ल सन्तोषजनक बिक्री भयो । चौथो वर्ष गएर कम्पनीले राम्रो गरिरहेको थियो । एक्कासि, २०७२ सालमा गएको विनाशकारी भूकम्प र लगत्तै छिमेकी भारतले लगाएको नाकाबन्दीले पुनः उनको व्यापारमा नराम्रो धक्का दियो ।
टासी फेरि पनि पछि हटेनन् । त्यसअघि आउटसोर्स गरेर कपडा उत्पादन गरिरहेका उनले त्यही साल आफ्नै कारखाना खोले । त्यसले उत्पादन बढाउन मात्रै होइन, गुणस्तर नियन्त्रणमा पनि मद्दत भयो ।
सोनामले बिस्तारै नेपाली ग्राहकको मन जित्दै गयो । आधुनिक डिजाइन र गुणस्तरका कारण । त्यही साल अर्थात् सन् २०१५ मै उनले बूढानीलकण्ठको कारखाना ठूलो बनाए ।
अस्ट्रेलिया, क्यानडा लगायत देश निर्यात पनि सुरु भएको थियो । व्यापार विस्तार लोभलाग्दो भइरहेको थियो । तर, त्यहीबीच आएको कारोना भाइरस महामारी (कोभिड–१९) ले केही समय खुम्चिनुपर्यो ।
तर, कोभिड प्रभाव कम हुँदै गएपछि उनको व्यापार पनि बढ्दै गयो । र, आजको सोनामको स्वरूपमा पुगेको छ ।उनले २०११ का अन्य ब्रान्डमा कपडा बनाएर बेच्दा पनि वार्षिक १ देखि २ करोडको कारोबार थियो । २०१५ तिर पुग्दा त्यो ८ देखि १० करोड पुगेको थियो । अहिले ३९ करोड नाघेको छ । कम्पनीको कारोबार वार्षिक ३० प्रतिशतले बढरहेको टासी सुनाउँछन् ।
‘ब्रान्डको नाम सोनाम चाहिँ किन राख्नुभयो ?,’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘यो शर्पाहरूको नाम हो । यसको अर्थ भाग्यमानी भन्ने हुन्छ । नेपाल र भारत दुवैतिर यो नाम चर्चित भएकाले राखेका हौं।’
सुरुमा कारखानाको उत्पादन क्षमता मासिक ३ हजार थान रहेकोमा अहिले २० हजार पुगेको छ । लगानी नै ३० करोडभन्दा बढी कारोबार पुगिसकेको उनको भनाइ छ ।‘स्थायी रोजगारीमा १ सय ५० जति कर्मचारी छन् । दैनिक ज्यालादारीको पनि हिसाब गर्दा करिब ३ सयले रोजगारी पाएका छन्,’ उनी भन्छन् ।
सुरुमा उनले ट्रेकिङ र हाइकिङका लागि आवश्यक मात्रै एसेसरिज उत्पादन गर्थे । तर, अहिले भने सबै किसिमका लुगा उत्पादन गर्छन् । अहिले सहरमा लगाउने खालका कपडामा पनि विशेष ध्यान दिएको उनको भनाइ छ ।
‘गुणस्तर कायम गर्नु नै आफ्नो एकमात्रै उद्देश्य हो,’ टासी भन्छन् ।यहाँ स्थानीय कच्चापदार्थ नपाउने र चीन, ताइवान, भारत लगायतबाट आयात गर्नुपर्ने हुँदा त्यो यहाँ ल्याउनै करिब ६ महिना लाग्ने उनको भनाइ छ । ‘कच्चापदार्थकै कारण अहिले योजना बनाइयो भने उत्पादन बजार ल्याउन एक वर्ष लाग्छ,’ उनी भन्छन् ।
अबका दिनमा सोनाम ब्रान्डलाई विदेश पनि पुर्याउने उनको लक्ष्य छ । सुरुमा भारतमा आफ्नै आउटलेट बनाउने योजना छ । अहिले ३९ करोड बराबर रहेको कारोबार तीन गुणाभन्दा धेरैले बढाउने लक्ष्य छ ।
अबको तीन वर्षमा कारोबार कम्तीमा दुई गुणा बढाउने लक्ष्य पनि उनको छ । अहिले जुन गतिमा यो ब्रान्ड विस्तार भइरहेको छ । त्यही गतिमा विस्तार भए चाँडै त्यो लक्ष्य हासिल होला ।
तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर