इसाई धर्मावलम्बीहरूको कार्यक्रममा एक मन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर उनकै पार्टी नेकपा माओवादी केन्द्रभित्र चर्को असन्तुष्टि रहेको देखिएको छ।

माओवादी नेताहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भिन्न धार्मिक आस्था राख्ने समुदायको भावनामा चोट पुर्‍याएको बताएका छन्।नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रामेश्वर राय यादवले पार्टीभित्र पनि विभिन्न धर्ममा आस्था राख्नेहरूको भावनामा चोट लाग्ने अभिव्यक्ति मन्त्रीले दिएको टिप्पणी गरे।

उनले भने, “म पार्टीलाई पनि भन्छु, यस्ता कुराहरूलाई छुट दिनुहुन्न। यसले सामाजिक द्वन्द्व बढाउँछ।”आफ्नो पार्टी धर्मनिरपेक्षताको पक्षपाती रहेको तर सबै धर्मलाई सम्मान गर्ने उनको भनाइ छ।

नेता यादवले भने, “क्रिश्चियन (धर्म) नमान्ने राष्ट्रघाती हो भन्ने जुन शब्द उहाँले प्रयोग गर्नुभयो, त्यो आपत्तिजनक हो। अरू कुनै समुदाय वा सम्प्रदायलाई होच्याउन पाइँदैन।”

मन्त्री किरातीको भनाइ थियो, “क्रिश्चियन मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्।”आफ्नो अभिव्यक्तिले विरोध र असन्तुष्टि निम्त्याएपछि उनले आफ्नो अभिव्यक्ति संविधानविरोधीहरूलाई लक्षित रहेको स्पष्टीकरण दिएका थिए।किरातीको अभिव्यक्ति विवादमा परेलगत्तै माओवादी केन्द्रको पूर्व निर्धारित पदाधिकारी बैठक भएको थियो। तर त्यसमा त्यसबारे चर्चा भएन।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय