नेपाल तामाङ समाज जापानले आगामी फेब्रुअरी २ तारिख आइतबार मञ्जुश्री संवत २८६१ औँ साला पुख्रि (सर्प) ल्हो सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
NPO होउजीन नेपाल तामाङ समाज जापान केन्द्रीय समितिद्वारा आयोजित यस कार्यक्रममा जापानमा रहेका सम्पूर्ण तामाङ दाजुभाइ दिदीबहिनी लगायत अन्य नेपालीहरूलाई उपस्थित हुन आह्वान गरिएको छ।
कार्यक्रम टोकियोको एटम सिन्जुकुमा दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ। यसैगरी, समाजका ६ वटा क्षेत्रीय समितिहरूले पनि आ–आफ्नै मितिमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्ने भएकाले पायक पर्ने स्थानमा गएर तामाङ संस्कृति अवलोकन गर्न सकिने अध्यक्ष कार्साङ तामाङले बताउनुभएको छ।
कार्यक्रममा नेपालबाट ख्याति प्राप्त कलाकारहरू सेलो गायक विश्व दोङ, रेश्मा बम्जन, डान्सर अङ्गी दोङसँगै जापानमा रहेका स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहनेछ। स्थानीय कलाकारहरूमा एलबी तामाङ, जनक थोकर, प्रज्वल दोङ लगायत अन्य कलाकारहरूको प्रस्तुति रहने भएकाले महासचिव जनक थोकरले सबैलाई छुट्टी मिलाएर कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभएको छ।
यस कार्यक्रममार्फत जापानमा रहेका तामाङ समुदायले आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जोगाउन तथा प्रवर्द्धन गर्न पाउने अपेक्षा गरिएको छ।