अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले नयाँ वर्ष २०२४ को अवसरमा कविता कन्सर्टको दोस्रो शृङ्खला आयोजना गर्ने भएको छ।
च्याप्टरको हालै निर्वाचित नयाँ कार्यसमितिले पहिलो कार्यक्रम स्वरूप कविता कन्सर्ट गर्न लागेको हो।जापानमा रहेर लामो समयदेखि नेपाली कविता विधामा सक्रिय रहेका चार कविहरूले आफ्ना उत्कृष्ट कविताहरू वाचन गर्नेछन्। कन्सर्टमा जयन्ती मगर सहगम, शरद पोख्रेल, वैकुण्ठ भट्ट र सविना रेग्मीले आ आफ्ना प्रस्तुति दिनेछन्।
संस्थाले आफ्नो ६८ औँ नियमित साहित्य शृङ्खलाको रूपमा यस कार्यक्रमलाई अगाडि सारेको छ। जनवरीको २८ तारिख आइतबार दिउँसो २ बजेबाट टोकियोको सोलमारी मुरा हलमा हुने उक्त कार्यक्रममा सम्पूर्णलाई प्रवेश निःशुल्क गरिएको छ।
कविता कन्सर्टमा उपस्थित भएर निःशुल्क साहित्यिक रसस्वादन गर्नका लागि टोकियो आसपासमा रहने सम्पूर्ण नेपाली साहित्यप्रेमीहरूलाई निमन्त्रणा समेत गरिएको संस्थाका अध्यक्ष अरुण पौडेलले जानकारी दिनुभयो।





