गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सन् २०२५-२०२७ कार्यकालका लागि हुन गइरहेको निर्वाचनमा दिपक बुर्जा मगरले युवा संयोजक पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
लामो समयदेखि विभिन्न सामाजिक सेवामा सक्रिय रहँदै आएका दिपक बुर्जा मगरले आफ्नो परिपक्क नेतृत्व क्षमता प्रदर्शन गर्न उम्मेदवारी दिएको बताउनुभएको छ। उहाँ जापानमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहनुभएको छ भने नेपाल मगर संघ जापानको अध्यक्षसमेत भइसक्नुभएको छ। हाल उहाँ नेपाल मगर संघ जापानको सल्लाहकारका रूपमा सक्रिय हुनुहुन्छ।
आफ्नै न्युज अनलाइनसंगको संक्षिप्त कुराकानीमा जानकारी दिँदै मगरले भन्नुभयो, “यदि युवा संयोजकमा जित हासिल गरेँ भने आगामी दिनमा प्रवासमा रहेका नेपाली युवा पंक्तिलाई गैरआवासीय नेपाली संघसँग सिधा सम्पर्कमा ल्याउनेछु। साथै, युवाहरूको आधारभूत क्रियाकलापमा आवश्यक कार्यक्रमहरू योजना गरी युवालाई प्रवासमा सक्रिय राख्नेछु।”
उहाँले पछिल्लो समय जापानमा रहेका नेपाली युवाहरू खेलकुदप्रति निकै सक्रिय रहेको बताउँदै फुटबल, भलिबल र क्रिकेटजस्ता खेल क्षेत्रमा युवाका लागि नियमित कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिनुभयो।
यसपालिको एनआरएनए जापानको चुनावमा युवा संयोजक पदका लागि दाबी गर्दै उहाँले “भ्रम होइन, तथ्यलाई आत्मसात गर्ने सकारात्मक सोच: समाज रूपान्तरणका लागि युवाको खोज” भन्ने मुख्य उद्देश्यका साथ आफ्नो एजेन्डा लिएर चुनावी अभियानमा होमिनुभएको छ।
अब कसैले पनि भ्रममा नपरी हरेक कुराको सत्य तथ्यलाई बुझ्ने र समाज रूपान्तरणका लागि सकारात्मक सोच्ने व्यक्ति छानौं भन्दै युवा संयोजक पदका उम्मेदवार दिपक बुर्जा मगरलाई अग्रिम शुभकामना व्यक्त गर्दछौं।





