ब्रेज मेश्रों घान्द्रुक समाज जापानले हरेक वर्ष आयोजना गर्दै आइरहेको वार्षिक वनभोज, BBQ तथा रमाईलो भेटघाट कार्यक्रम यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ।
जापानको चिबा प्रान्तस्थित साकुरा चिचिमी पार्कमा हिजो मे ५ तारिख सोमबारका दिन यो कार्यक्रम आयोजना गरिएको थियो। जापानको लामो बिदा गोल्डेन वीकलाई मध्यनजर गर्दै सदस्यहरूलाई भेटघाट गर्ने अवसर प्रदान गरिएको थियो।
समाजका अध्यक्ष युक्तमान गुरुङले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै जापानको व्यस्त जीवनशैलीका बाबजुद समाजका सदस्यहरूबीच भेटघाट, दुःख सुख साटासाट, नयाँ पुराना सदस्यहरूको परिचय, खानपिन र मनोरञ्जनात्मक कार्यक्रमसहित नाचगान गरी वर्षभरिको थकान मेटाउनु यस कार्यक्रमको मुख्य लक्ष्य हो। यसका साथै जापानमा रहेका अन्य संघसंस्था, समाज, आफन्त र इष्टमित्रहरूसँग समन्वय र भाइचाराको सम्बन्ध स्थापित गर्नु पनि यसको उद्देश्य रहेको बताए।

कार्यक्रममा गत वर्ष जस्तै यस वर्ष पनि डोरी तान्ने र ५ केजी तौल भएको ठेलो हान्ने खेलहरू आयोजना गरिएको थियो । पुरुष डोरी तान्ने प्रतियोगितामा ४ टिमको सहभागिता रहेको थियो, जसमा दुधपोखरी समाज जापान प्रथम र तमु धी जापान द्वितीय भएका थिए। दुधपोखरी समाज जापानले ब्रेज मेश्रों घान्द्रुक समाज जापानलाई र तमु धी जापानले पन्चासे समाज जापानलाई पराजित गर्दै जीत हासिल गरेका थिए। ठेलो हान्ने खेलमा युवराज गुरुङ प्रथम र सोनाम गुरुङ दोस्रो भएका थिए।

आयोजकले डोरी तान्ने र ठेलो हान्ने खेलका प्रथम र दोस्रो विजेताहरूलाई क्रमशः २० हजार र १० हजार नगद येन सहित खादा मालाले सम्मान गरेको थियो। कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष नवीन न्युरे र तमु चलचित्रकी नवनायिका साना गुरुङलाई विशेष सम्मान गरिएको थियो। यसका साथै जापानमा समाजमा भर्खरै आउनुभएका नयाँ सदस्यहरूलाई पनि स्वागत गरिएको थियो।

कार्यक्रममा तमुधिं जापान, थकाली सेवा समिति जापान, गुरुङ समाज जापान, दूतपोखरी तमु समाज जापान, कास्की पोखरा समाज जापान, स्याङ्जा समाज जापान, तमुधीं किताकान्तो जापान समाज, पञ्चासे समाज जापान, मनाङ सोसाइटी जापान र afnainews.com का सम्पादक फुर्वा शेर्पा लगायत विभिन्न संघसंस्थाका अध्यक्षहरू र समाजलाई आर्थिक तथा भौतिक सहयोग गर्ने व्यक्तित्वहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरू तथा विजयी खेलाडीहरूलाई समाजका अध्यक्ष युक्तमान गुरुङ, महिला विभाग प्रमुख संयोजक नवीना गुरुङ र संरक्षक विजय गुरुङले खादा फेटा र नगद पुरस्कार प्रदान गरी सम्मान गरेका थिए। खेलकुद प्रतियोगिता खेलकुद संयोजक जगनराज र सांस्कृतिक संयोजक यम गुरुङको संयोजनमा सम्पन्न भएको थियो।

अन्तमा, सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमपछि समाजका अध्यक्षले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरे। कार्यक्रममा जापानमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।





