गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सन् २०२५ देखि २०२७ सम्मको आगामी कार्यकालका लागि सचिव पदमा दिनेश लोहनीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। जापानमा १४ वर्ष लामो बसोबास र १० वर्षको सफल व्यावसायिक अनुभव सँगालेका लोहनी, नेपाली समुदायमाझ परिचित नाम हुन्।
जापानमा व्यवसायिक सफलता हासिल गरेसँगै लोहनी विभिन्न सामाजिक संस्थाहरूमा निरन्तर सक्रिय रहँदै आएका छन्। उनले धादिङ समाज जापानको महासचिव, वरिष्ठ उपाध्यक्ष र अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन्। यसका अतिरिक्त, एनआरएनए जापानको मानार्थ सदस्य र २१-२३ कार्यसमितिको सल्लाहकारका रूपमा र वर्तमान कार्यसमितिका एक महत्त्वपूर्ण सदस्यका रूपमा पनि चिनिन्छन्।
धादिङ समाज जापानको नेतृत्वमा रहँदा र एनआरएनए जापानको केन्द्रीय कार्यसमिति सदस्यका रूपमा सामाजिक सेवामा पुर्याएको योगदानका कारण लोहनीले नेपाली समुदायको विश्वास जित्न सफल भएका छन्। आफ्नो उम्मेदवारी घोषणा गर्दै लोहनीले विगत १४ वर्षदेखि जापानमा रहेका नेपालीहरूका समस्यालाई नजिकबाट बुझेको बताएका छन्। उनले एनआरएनए जापानको मञ्चबाट नेपालका आवश्यक क्षेत्रमा थप सेवा पुर्याउने, जापान र नेपालबीचको जनस्तरको सम्बन्धलाई सुदृढ गर्ने तथा प्रविधि रूपान्तरणसम्मको सहकार्यमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
एनआरएनए जापानको १२औँ अधिवेशन जुलाई २० तारिखमा हुँदैछ भने, आगामी जुलाई २७ तारिखका दिन निर्वाचन प्रक्रिया सम्पन्न हुनेछ।





