जापानका लागि नेपाली राजदूत तथा प्रसिद्ध साहित्यकार डा. दुर्गा बहादुर सुवेदी (डा. दुवसु क्षेत्री) लाई युगाकवि सिद्धिचरण पुरस्कार प्रदान गरिने भएको छ। आफ्नो छ दर्जनभन्दा बढी मौलिक र सम्पादित साहित्यिक एवं अनुसन्धानात्मक कृतिहरू तथा विभिन्न प्राज्ञिक, साहित्यिक र सांस्कृतिक संस्थाहरू मार्फत नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याए वापत उहाँलाई छनोट समितिको बैठकले यो प्रतिष्ठित पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
डा. सुवेदी नेपाली साहित्यमा एक विशिष्ट पहिचान बनाउन सफल व्यक्तित्व हुनुहुन्छ। उहाँका कविता, समालोचना, निबन्ध र अनुसन्धानमूलक कृतिहरूले नेपाली साहित्यलाई समृद्ध बनाएका छन्। लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय रहनुभएका डा. सुवेदीले नेपाली भाषा र साहित्यको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
नेपाली राजदूतावास, टोकियो परिवारले डा. दुर्गा बहादुर सुवेदीलाई यो महत्वपूर्ण पुरस्कार प्राप्त गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। उहाँको साहित्यिक यात्रा थप उचाइमा पुगोस् र नेपाली साहित्यलाई विश्वसामु चिनाउन उहाँको योगदान निरन्तर रहिरहोस् भन्ने कामना पनि दूतावास परिवारले गरेको छ।





