
२०११ सालको भूकम्प र आणविक दुर्घटनाबाट प्रभावित फुकुशिमा प्रान्तको फुटाबा टाउनमा १०,००० वटा आतिशबाजीले आकाश उज्यालो बनाएको छ। यस कार्यक्रमले विनाशकारी घटनाबाट प्रभावित टाउनको पुनर्निर्माणको कामना गरेको छ।
फुकुशिमा दाइची आणविक पावर प्लान्ट रहेको फुटाबा टाउनका धेरै भागमा अझै पनि विस्थापन आदेश जारी छ।शनिबार भएको एक कार्यक्रममा १०,००० वटा आतिशबाजीहरू आकाशमा उडाइएको थियो। यो दृश्य करिब ४,५०० जनाले अवलोकन गरेका थिए।

फुकुशिमाको एक आतिशबाजी संघ र स्थानीय बासिन्दाहरूले यो कार्यक्रमको आयोजना गरेका थिए।आतिशबाजीहरू एकपछि अर्को गरी छोडिँदै जाँदा फुटाबाका बासिन्दाहरूबाट सन्देशहरू पढ्न लगाइएको थियो।
आतिशबाजीहरूमा इसिकावा प्रान्तको नोटो क्षेत्रका आतिशबाजी विशेषज्ञहरूले उपलब्ध गराएका केही आतिशबाजीहरू पनि समावेश थिए। यो क्षेत्र यस वर्ष भूकम्प र मुसलधारे वर्षाबाट प्रभावित भएको छ।दर्शकहरूले आतिशबाजीको रंगीन शोको आनन्द उठाए र आफ्नो समुदायको पुनर्निर्माणको कामना गरे।
फुकुशिमा प्रान्तको निहोनमात्सु सिटीबाट एक ३० वर्षीया महिला आफ्नो परिवारसँग आएकी थिइन्। उनले भव्य आतिशबाजीबाट प्रभावित भएको बताइन् र पुनर्निर्माण प्रयासहरूमा थप प्रगति हुने आशा व्यक्त गरिन्।
फुटाबाका एक जिल्ला नेता ताकाकुरा इसुकेले आफू भावनाले अभिभूत भएको बताए। आतिशबाजीले उनलाई जिल्लाका मृत व्यक्तिहरू र विपद्पछि स्थानीयहरूले भोगेका कठिनाइहरू सम्झाए।
उनले यस कार्यक्रमले पूर्ण उद्धारतर्फको आफ्नो कदममा टाउनलाई उत्साहित गरेको आशा व्यक्त गरे।