“जापान गलकोटेहरूले खाए” भन्ने भनाइलाई सार्थक पार्दै, बागलुङको गलकोटबाट आएका नेपालीहरूले जापानका विभिन्न शहरमा आयोजित ‘सांगीतिक धमाका-२०२५’ मा उत्साहजनक सहभागिता जनाएका छन्। ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमले गलकोटेहरूको एकता र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।

सन् २००६ मा स्थापित गलकोट समाज जापानले जापानका सिजुओका, ओसाका, नागोया र टोकियोमा आयोजित यस कार्यक्रममा नेपालबाट आएका कलाकारहरू वसन्त थापा, सुनिता बुढा क्षेत्री, नविन राना र सूर्य खड्काको प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रममा उठेको रकम गलकोट क्षेत्रको शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा लगानी गरिनेछ।

गलकोट समाज जापानका अध्यक्ष रत्नसिंह बस्नेतले यस कार्यक्रमले गलकोटेहरूलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले जन्मभूमिप्रतिको माया र समर्पण भावनाका कारण नै यति ठूलो सफलता हासिल भएको बताए। कार्यक्रम संयोजक लोकेश खत्रीले पनि यस कार्यक्रमले गलकोटेहरूको सामाजिक भावनालाई प्रेरणा मिलेको बताए।

विगत दुई दशकदेखि निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएको गलकोट समाज जापानले यस पटकको कार्यक्रममा पनि विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तिहरूबाट उल्लेख्य सहयोग प्राप्त गरेको छ। जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघका पदाधिकारीहरू लगायतले यस कार्यक्रमको प्रशंसा गर्दै समाजको प्रयासलाई सफल बनाउन शुभकामना व्यक्त गरेका छन्।

यो समाचार जनहित न्युज डटकमको सहयोगमा तयार पारिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय